PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग आजदेखि आयो सञ्चालनमा



पहिलोपोस्ट

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग आजदेखि आयो सञ्चालनमा

बुटवल : रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग सञ्चालनमा आएको छ।

बिहीवार बिहानदेखि विमानस्थलको पुरानो एक हजार पाँच सय मिटर लामो धावनमार्ग बन्द गरेर तीन हजार मिटर लामो नयाँ धावनमार्गबाट उडान र अवतरण सुरु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले जानकारी दिए।

सन् १९५८ जुलाई ८ बाट सञ्चालनमा आएको गौतमबुद्ध विमानस्थलको नयाँ धावनमार्गमा यती एयरले पहिलो उडान भरेको छ भने बुद्ध एयरले पहिलो अवतरण गरेको छ। पुरानो रनवेलाई टयाक्सी-वे मा परिणत गरिएको उनले बताए।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको विमानस्थलको धावनमार्ग सञ्चालनमा आएपनि अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्धजयन्तीका दिनदेखि हुनेछ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा हेरिएको छ। ६ दशकदेखि आन्तरिक उडान भइरहेको विमानस्थल स्तरोन्नती भई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सञ्चालनमा आएको हो।

भैरहवाबाट आन्तरिकतर्फ काठमाडौं, पोखरा र भरतपुरका लागि २२ वटा नियमित उडान हुने गरेको छ। गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या आउँदा अन्य देशका विमानस्थलमा जहाज डाइभर्ट गर्नुपर्ने बाध्यता हट्ने छ।

यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भइसकेको यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्नका लागि हालसम्म औपचारिक रुपमा जजीरा एयरले अनुमति लिएको छ। अन्य एयरलाइन्सले पनि सम्पर्क गरिरहेको बताइएको छ।

जजीरा एयरले उडानको तयारी गरिसकेको छ। अन्य एयरलाइन्सले पनि उडान गर्ने विमानस्थलको विश्वास छ।

एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको  पहिलो चरणमा करिब ११ अर्ब रुपैयाँ खर्च भएको छ। विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो।

गौतमबुद्ध विमानस्थलमा न्यारोबडी र वाइडबडी जहाजले उडान अवतरण गर्नेछन्। कुल ७८७ विघा क्षेत्रफलमा बनेको विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा ठूलो छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell