
काठमाडौं : बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा टुंगो लगाएको थियो। सहमति अनुसार काठमाडौं महानगरपालिकाको प्रमुख नेपाली कांग्रेस र उपप्रमुख नेकपा एकीकृत समाजवादीले पायो।
तर, केन्द्रले गरेको निर्णय आफूहरु मान्ने पक्षमा नरहेको भन्दै काठमाडौं महानगर कार्यसमितिले उपप्रमुख पदका लागि पनि नाम सिफारिस गरेको छ। आज बसेको कार्यसमिति बैठकले उप्रप्रमुखमा सुशीला ढकाल र अमिता प्रधान शाक्यको नाम सिफारिस गरेको छ।
केन्द्रले उपप्रमुख एकीकृत समाजवादीलाई दिने निर्णय गरेपनि महानगर कार्यसमितिले भने नाम सिफारिस गरेको हो।
‘हामीहरु गठबन्धनको पक्षमा छैनौं। त्यही भएर उपमेयरमा पनि नाम पठाएको हो,’कार्यसमितिका एक सदस्यले भने।
नेकपा एकीकृत समाजवादीले उपप्रमुख पद पाउने भएपछि आकांक्षी नेताहरु आन्तरिक लबिङमा लागेका छन्। एकीकृत समाजवादीबाट उपप्रमुखका पदका लागि महानगरपालिका वडा १५ का बहालवाला अध्यक्ष एवम् प्रवक्ता इश्वरमान डंगोल, रामेश्वर श्रेष्ठ लगायतको नाम चर्चामा छ।