PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

मधेश प्रदेश एमालेको गढ बनेको ओलीको दाबी, 'सूर्य सिध्याउन हिँडेकाको थुतुनो डढ्यो'



पहिलोपोस्ट

मधेश प्रदेश एमालेको गढ बनेको ओलीको दाबी, 'सूर्य सिध्याउन हिँडेकाको थुतुनो डढ्यो'
Photo : CPN UML

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने दाबी गरेका छन्। बिहीवार काठमाडौंमा पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले तराईमा एमालेको लहर आएको बताएका हुन्।

विगतमा तराईमा एमालेलाई प्रवेश निषेध गरिएको भदै उनले अहिले मधेश प्रदेश एमालेको मजबुत गढ बनेको समेत बताए।

‘तराईमा हामीलाई प्रवेश गर्न दिइएको थिएन। यसपल्ट तराईमा एमालेलाई मात्र जनताले स्वागत गर्छ’ उनले भने, ‘अरुलाई स्वागत गर्दैन। मधेशमा अहिले एमालेको लहर आएको छ।’

उनले स्थानीय तह निर्वाचनमा एमालेले बहुमत ल्याउन दाबी समेत गरे। अघिल्लो निर्वाचनमा पनि सरकारमा नरहेको एमालेले राम्रो परिणाम ल्याएको भन्दै उनले अहिले आफूहरुको स्थिति धेरै राम्रो भएको बताए।

‘प्रदेशमै प्रवेश निषेध थियो एमालेलाई। आज मधेश प्रदेश एमालेको सबैभन्दा मजबुत गढको रुपमा अगाडी आइराखेको छ,’ उनले भने।

ओलीले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कब्जा गर्ने षड्यन्त्र समाप्त पार्नका लागि आफुले प्रतिनिधि सभा विघटन गरेको दाबी समेत गरे।

‘पार्टी कब्जा गर्ने षड्यन्त्र समाप्त पार्नका लागि प्रतिनिधिसभा विघटन गरेर संगठन सुदृढ गर्नुपर्‍यो। प्रतिनिधि सभाको विघटन र जनतामा ताजा जनादेशका लागि जाने र प्रधानमन्त्रीको काम र प्रधानमन्त्री विरोधीहरुको क्रियाकलापको मुल्यांकन जनताले गर्ने कुरा एकदम जायज कुरा हो’ ओलीले भने।

यस्तै, ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग पनि सत्तारुढ गठबन्धनले तालमेल गरिरहेको दाबी गरे। आफ्नो निर्वाचन क्षेत्रमा राजावादी दलसँग गठबन्धन मिलेको उनको आरोप थियो।

‘अब त राजावादी राप्रपासँग पनि उनीहरुको गठबन्धन भइसक्यो र झापाको मेरै निर्वाचन क्षेत्रमा राजावादी राप्रपाको उम्मेदवारलाई कांग्रेस, माधव नेपाल, प्रचण्ड सबै गुटहरुले साझा उम्मेदवारको रुपमा मानेर एमाले विरुद्ध आइ नै सके। त्यसकारण यो पाँचदलीय हैन ६ दलीय गठबन्धन भइसक्यो,’ उनले भने।

उनले एमालेको सूर्य चिह्न सिध्याउँछु भनेर लागेकाहरु असफल भएको समेत बताए। उनले तत्कालिन नेकपाका नेताहरुले आफूहरुलाई थुन्ने योजना बुनेको दाबी समेत गरे।

‘एमालेको सूर्य सिध्याउँछु भनेर कुदेकाहरुको थुतुनो आज डढिराखेको छ। एमालेको सूर्य सिध्याउँछु भनेर खान खोज्नेहरुको थुतुनो जलिराखेको छ। गतवर्ष एउटा डरलाग्दो षड्यन्त्र भयो। अध्यक्षका विरुद्ध प्रधानमन्त्रीका विरुद्ध फौजदारी आरोपहरु सहित १९ पृष्ठ लामो अभियोगपत्र अगाडि बढाइयो। यो ठुलो षड्यन्त्र थियो। त्यस अभियोग पत्रबाट के योजना थियो भने पार्टीबाट निष्काशन गर्ने र मुद्धा चलाएर थुन्ने योजना थियो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell