PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

दोस्रो कार्यकालका लागि समर्थन गर्ने महानिर्देशक टेड्रोसलाई मन्त्री खतिवडाको प्रतिवद्धता



पहिलोपोस्ट

दोस्रो कार्यकालका लागि समर्थन गर्ने महानिर्देशक टेड्रोसलाई मन्त्री खतिवडाको प्रतिवद्धता

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग भेटवार्ता गरेका छन्।

सो क्रममा मन्त्री खतिवडाले कोभिड-१९ महामारीविरुद्ध लड्न डब्लुएचओले सहयोग गरेकोमा धन्यवाद दिएका छन्। डब्लुएचओले नेपाललाई कोभिड-१९ विरुद्धको राष्ट्रिय खोप अभियान सुरु गर्न सहयोग गरेको स्मरण गर्दै उनले २०२२ को मध्यसम्ममा ७० प्रतिशत पूर्ण खोप पुर्‍याउने डब्लुएचओको लक्ष्य हासिल गर्ने पथमा नेपाल रहेको पनि जानकारी गराएका छन्।

भविष्यका आपतकालिन र महामारीहरुमा प्रतिकार्यलाई बलियो बनाउन, स्वास्थ्यमा सर्वव्यापी पहुँचको लागि आधारभूत स्वास्थ्य सेवाहरु र स्वास्थ्यकर्मीको क्षमता विकासको लागि मन्त्री खतिवडाले डब्लुएचओलाई आग्रह गरेका छन्।

त्यस्तै, उनले दोस्रो कार्यकालका लागि महानिर्देशक टेड्रोसको मनोनयनलाई नेपालले समर्थन र सहयोग गर्ने पनि बताए।

तीन दिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाका साथै राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्ने कार्यतालिका रहेको छ। त्यसैगरी, उनले परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नेछन्।

यस्तै, नेपालमा रहँदा उनले नेपाल सरकारका उच्च अधिकारीसहित डब्लुएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसंघका प्रतिनिधिसँग पनि छलफल गर्ने कार्यक्रम तय भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell