
काठमाडौं : निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका लागि १ करोड १९ लाख पतपत्र छापेको छ। हालसम्म ५३ जिल्लाको मतपत्र छपाइ सकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उनले विभिन्न जिल्लामा अहिले निर्वाचनका लागि आवश्यक समाग्री ढुवानीको काम भइरहेको बताए।
तर, मतपत्र भने सुरक्षाका हिसाबले बढी संवेदनशील हुने भएकाले अलि पछि मात्रै ढुवानी गर्ने आयोगको तयारी छ। ढुवानी व्यवसायीसँग प्रतिस्पर्धात्मक दररेटमा व्यवसायीले कबुल गरेको मूल्यमा सामाग्री ढुवानी हुने पौडेलको भनाइ छ। मतपत्रको सुरक्षा नेपाली सेनाले गर्ने भएपनि अरु सामग्रीको सुरक्षा भने नेपाल प्रहरीले गर्ने तय भएको छ।
'मतपत्रको सुरक्षालाई ध्यानमा राखेर नेपाली सेनाले नै काम गर्छ। अन्य समाग्रीको हकमा युनिट युनिटमा प्रहरी वाच गर्ने काम गर्छ। निर्वाचन आयोगको एक जना कर्मचारी हुन्छ,' पौडेलले भने।
डोल्पा र मुगु बाहेकका जिल्लामा आयोगले स्थलमार्गबाटै निर्वाचन सामग्री र मतपत्रको ढुवानी गर्ने तयारी गरेको छ।
जनप्रतिनिधिले कहाँ दिने राजीनामा?
आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई उम्मेदवार हुनका लागि अनिवार्य राजीनामा गर्नुपर्ने व्यवस्था गरेको छ। उक्त व्यवस्थाका विरुद्ध अदालतमा रिट परेको भएपनि अदालतले खारेज गरेपछि अब जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भएको हो।
आयोगले भने फैसलाबारे औपचारिक जानकारी नआएको जनाएको छ। राजीनामा कहाँ गर्ने भन्ने व्यवस्था सामान्य प्रशासन मन्त्रालयले गर्ने भएकाले आयोगले जवाफ नदिने पौडेलले बताए।
'अदालतमा विचाराधिन रहेको कुरा अदालतले निर्णय गर्यो भन्ने हामीले मिडियाबाट सुनेको हो। संघीय मन्त्रालयले यसबारेमा निकास निकाल्छ आयोगले यसबारेमा बोलिरहन परेन,' उनले भने।