PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

‘मेरो नाम कर्मा होइन कार्म हो’



पहिलोपोस्ट

‘मेरो नाम कर्मा होइन कार्म हो’

काठमाडौं : फिल्म ‘षट्कोण’का मुख्य अभिनेताले आफ्नो नामबारे स्पष्ट पारेका छन्। यसअघि मिडियामा कर्मा शाक्य भनेर चिनिने अभिनेताले ‘षट्कोण’को पत्रकार भेटघाट कार्यक्रममा आफ्नो नामबारे स्पष्ट पारेका हुन्।

‘मेरो नाम कर्मा होइन् कार्म हो। सन् २००७ मा रिलिज भएको फिल्म 'सानो संसार' देखि मैले त्यही नाम प्रयोग गर्दै आएको छु। कर्मा र कार्मको अंग्रेजीमा एउटै तरिकाले लेखिन्छ। धेरै जनाले कर्मा भनेको भाग्य भन्नुहुन्छ। तर, तिब्बती भाषामा कार्म को अर्थ तारा हो।’

कार्म मात्र लेख्नुको पछाडिको कारण समेत खुलाए उनले।

‘जातीय भेदभावको समस्याले मैले जात नजोडी कार्म नाम राखेको हुँ। कार्म नागरिकताको नाम नभई स्टेज र मलाई चिनाउने नाम हो। जातीय भेदभाव हाम्रो समाजमा अझै बाँकी छ। एउटा कलाकार भएर समाजमा राम्रो सन्देश जाओस् भनेर नाम परिवर्तन गरेको हुँ। त्यसैले मेरो नाम कार्म राखे,’ उनले भने।

आफ्नो नाम अनुसार नेपाली फिल्म क्षेत्रको तारा बन्न सक्नुभयो त भन्ने पत्रकारको जवाफमा उनले भने, ‘म तारा बन्नको लागि यो क्षेत्रमा आएको होइन। मलाई तारा बन्नु पनि छैन। स्टार भनेको चम्किरहने हो। मैले नाम त रोजेँ त्यो बेग्लै कुरा हो। मलाई कलाकारिता गर्नु छ विशुद्ध भुईँमा बसेर। तर, स्टार बन्ने मेरो इच्छा छैन।’

उनी यस फिल्ममा पत्रकारको भूमिकामा देखिएका छन्। क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा मिलन डि काप्रिको निर्देशन रहेको छ।

फिल्ममा कार्मका साथै भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेमको अभिनय रहेको छ। साइकोलोजिकल थ्रिलर फिल्म आगामी बैशाख २३ गतेबाट प्रदर्शन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell