PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

वीरगंज, भरतपुर र ललितपुरमा एमालेबाट मेयरको उम्मेदवार तय, अन्य महानगरमा यसकारण हुन सकेन चयन



पहिलोपोस्ट

वीरगंज, भरतपुर र ललितपुरमा एमालेबाट मेयरको उम्मेदवार तय, अन्य महानगरमा यसकारण हुन सकेन चयन

काठमाडौं :  नेकपा एमालेले गण्डकी प्रदेश सरकार परिवर्तनको सम्भावना रहेकाले प्रदेशसभाका सदस्यहरुलाई स्थानीय तह निर्वाचनमा अघि नसार्ने बताएको छ। एमालेको बिहीवार सम्पन्न भएको सचिवालयको ८ औं बैठकमा गण्डकी प्रदेशसभाका सदस्यहरुलाई आसन्न निर्वाचनमा अघि नसार्ने निर्णय भएको पार्टी प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए। 

पोखरा महानगरको मेयरका लागि भने १२ जनाको नाम प्रदेश कमिटीले केन्द्रमा पठाएको छ। तर, त्यहाँ अहिले प्रदेश सभाका सदस्यहरुको सिफारिस पनि आएकाले उनीहरुलाई स्थानीय तहको निर्वाचनमा अघि नसार्ने एमालेको रणनीति छ। 'गण्डकीको हकमा अझै सरकार फेरबदल हुने सम्भावन भएकाले कुनै पनि माननीयलाई स्थानीय तहको निर्वाचनमा अघि सार्दैनौ,'गुरुङले भने।

आजको बैठकमा स्थानीय तहका उम्मेदवार चयन र घोषणापत्रबारे छलफल भएको थियो। पार्टी स्थापना दिवसका अवसरमा शुक्रवार नै एमालेले घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको हो। यस्तै, शुक्रवार भने च्यासलमा पार्टी कार्यालय उद्घाटन गर्ने एमालेले निर्णय गरेको छ।

'महानगर र उपमहानगरको उम्मेदवारको चयनमाथि छलफल भयो। यस्तै उम्मेदवारहरुको सिफारिसका आधारमा छलफल चालएका छौं' एमालेका प्रवक्ता पृथ्वीसुब्वा गुरुङले भने।

उनले महानगर र उपमहानगरको उम्मेदवारबारे भने कुनै निर्णय नभएको जानकारी दिएका छन्। प्रदेश कमिटीले सिफारिस गरेका उम्मेदवार हुने आकांक्षा बोकेका नेताहरुबारे बैठकमा छलफल भएको थियो। गुरुङले बैशाख १० गते दिउँसो ३ बजे बालकोटमा बस्ने बैठकले उम्मेदवारबारे टुंगो लगाउने बताए।

को को भएका छन् सिफारिस ?

भरतपुर महानगरमा एमालेका तर्फबाट मेयरका लागि विजय सुवेदीको नाम मात्रै सिफारिस भएको छ। वीरगजं महानगरमा विजय सरावगी मात्रै सिफारिस भएका छन्। ललितपुरमा हरिकृष्ण व्यञ्जनकारको नाम मात्रै सिफारिस भएको छ। यी तीन महानगरको मेयर भने एमालेले टुंग्याइसकेको छ।

लुम्बिनी प्रदेशमा पनि सरकार फेरबदलको सम्भावना रहेकाले त्यहाँ पनि प्रदेशसभाका सदस्यलाई स्थानीय तहको निर्वाचनमा अघि नसार्ने एमालेले बताएको छ। वाग्मती र अरु प्रदेशमा भने सरकार परिवर्तनको सम्भावना नरहेको गुरुङले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell