PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

लुम्बिनीमा ८६ हजार ६२४ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै



पहिलोपोस्ट

लुम्बिनीमा ८६ हजार ६२४ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै
FILE PHOTO

बुटवल : माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ मा लुम्बिनी प्रदेशबाट ८६ हजार ६२४ जना विद्यार्थी सहभागी हुने भएका छन्।

शुक्रबारदेखि सुरु हुने परीक्षाका लागि प्रदेशका १२ वटा जिल्लाबाट नियमिततर्फ ८५ हजार ६७३, ग्रेड वृद्धितर्फ ९५१ र प्राविधिक धारतर्फ दुई हजार ८६६ जना विद्यार्थी सहभागी हुन लागेको प्रदेश शिक्षा विकास निर्देशनालयका सुचना अधिकारी माधव प्रसाद पोख्रेलले जानकारी दिए।

कूल ३२७ परिक्षा केन्द्र रहेको प्रदेशमा सबैभन्दा धेरै परीक्षार्थी रुपन्देहीमा र सबैभन्दा कम परीक्षार्थी रुकूम पूर्वमा रहेका छन्। परीक्षा संचालनका लागि ३२७ केन्द्राध्यक्ष, ५७९ जना सहायक केन्द्राध्यक्ष, चार हजार ३४५ जना निरीक्षक, ८६७ जना सहायक निरीक्षक र एक हजार ७१३ जना कार्यालय सहयोगी परिचालन गरिएको निर्देशनालयका सुचना अधिकारी पोख्रेलले बताए।

कुन जिल्लामा कति परीक्षार्थी?

एसईई परीक्षामा लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबैभन्दा धेरै रुपन्देहीबाट १८ हजार २५४ जना परीक्षार्थी परीक्षामा सहभागी हुनेछन्। ५५ वटा परीक्षा केन्द्र रहेको रुपन्देहीमा नियमिततर्फ १८ हजार ९६ जना, खुल्लातर्फ ८१ जना, प्राविधिक धारतर्फ १४ वटा विद्यालयबाट ४२२ जना, ग्रेडवृद्धितर्फ १५८ जना र कारागारबाट ७ जना परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन्।

सबैभन्दा कम रुकूम पूर्वमा एक हजार १४१ जना परीक्षार्थी सहभागी हुँदैछन्। यहाँ ६ वटा परीक्षा केन्द्र रहेका छन्। नवलपरासी पश्चिमबाट ६ हजार ३२६ जना, पाल्पाबाट चार हजार ८४१ जना परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन्।

त्यस्तै यस वर्षको एसईई परीक्षामा गुल्मीबाट चार हजार ८२३ जना, अर्घाखाँचीबाटमा तीन हजार ५८५ जना परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन। प्यूठानमा चार हजार ४२२ जना परीक्षार्थी रहेका छन्। कपिलवस्तुबाट आठ हजार ८३ जना, रोल्पाबाट चार हजार ११७ जना, दाङबाट १३ हजार १५२ जना, बाँकेबाट नौ हजार २८९ जना र बर्दीयाबाट आठ हजार ५९१ परीक्षार्थी एसईई परीक्षामा सहभागी हुँदैछन्।

परीक्षाको तयारी पूरा

परीक्षा संचालनका लागि प्रदेशका सबै जिल्लाका परीक्षा केन्द्रमा सम्पूर्ण तयारी पूरा भएको निर्देशनालयका सुचना अधिकारी पोख्रेलले बताए। निर्देशनालयका अनुसार राष्ट्रिय परीक्षा बोर्डबाट परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिकालगायतका आवश्यक सामग्री यसअघि नै सम्बन्धित जिल्लामा पठाइसकिएको छ। जिल्लाले परीक्षा केन्द्र नजिकैका प्रहरी चौकीमा सामाग्री राखिएका छन्।

परीक्षा संचालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समितिले जिल्ला परीक्षा समन्वय समितिलाई परिचालन गरेको छ। बोर्डले प्रदेशसँग समन्वय गर्ने र प्रदेशअनुसारका सबै जिल्लालाई प्रदेशले निर्देशन दिने तथा अनुगमन गर्ने गरी व्यवस्था गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्ड नियमावलीमा २०७८ माघ २४ मा पहिलो संशोधन भई हालसम्म परीक्षा नियन्त्रण कार्यालयबाट हुँदै आएको परीक्षार्थीको मार्क इन्ट्री र नतिजा तयारीको काम अबदेखि प्रदेश शिक्षा विकास निर्देशनालयबाट हुने व्यवस्था गरेको छ।

यसवर्ष देशभरका ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ छात्र एक लाख ५७ हजार ९१४ र छात्रा दुई लाख ५७ हजार ५३ जना गरी कूल पाँच लाख १४ हजार ९६७ परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell