
वीरगंजः नेकपा (एमाले) का मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठले आसन्न स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग तालमेलको प्रयास भइरहेको बताएका छन्। महासेठले वीरजंग महानगरसँगै मधेश प्रदेशका अन्य जिल्लाका स्थानीय तहमा पनि तालमेलको प्रयास भइरहेको बताएका हुन्।
वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘एमालेले लोसपासँग वीरगंजमा मात्र तालमेल गर्न लागेको होइन अन्य जिल्लामा र आवश्यक परे देशकै आवश्यक स्थानीय तहमा गठबन्धन गरी चुनाव लडने पार्टीको धारणा रहेको छ।’
पार्टी स्थायी कमिटी बैठकले तालमेलबारे चाँडै निर्णय गर्ने पनि उनले बताए।
लोसपाका नेता लक्ष्मणलाल कर्णले वीरगंजमात्र नभइ अन्य स्थानीय तहमा पनि तालमेलबारे एमालेसँग कुरा भइरहेको बताए।
तालमेलबारे दुबै पार्टीमा कुरा भइरहेको कर्णले बताए।
राष्ट्रिय सभाको चुनावमा मधेश प्रदेशमा एमाले र लोसपाबीच यसअघि तालमेल भएको थियो। तर नतिजा भने वर्तमान सत्ता गठबन्धनको पक्षमा गएको थियो।
पत्रकार सम्मेलनमा वीरगंज महानगरमा मेयरमा एमालेका विजयकुमार सरावगी र उपमेयर लोसपालाई दिने सहमति भएको जानकारी दिइएको छ। उपमेयरमा लोसपा पर्सा अध्यक्ष पुरुषोत्तम झा र रम्भा मिश्राको चर्चा छ। लोसपाले आधिकारिक निर्णय गरेको छैन।