PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

भोट बैंक बनिरहेका सुकुम्बासी भन्छन्, ‘अब एक हातमा लालपूर्जा अर्को हातले छाप’



रिना थापा

भोट बैंक बनिरहेका सुकुम्बासी भन्छन्, ‘अब एक हातमा लालपूर्जा अर्को हातले छाप’

पोखराः टिनका स-साना टहरा। बस्तीको बीचबाटै बग्छ फोहोरको नाला। कोठाअघि नालाको दूर्गन्ध उस्तै। झट्ट पुग्दा सबैलाई लाग्छ कसरी बस्न सकिन्छ यहाँ। तर, पोखरा महानगरपालिका ९ मा रहेको यो बस्ती सुकुम्बासीको घामपानी छेक्ने आश्रयस्थल हो। बस्ती सुकुम्बासीको आश्रयमात्र नभइ राजनीतिकको 'सेल्टर भूमि' पनि हो। किनकी यही बस्ती पोखराका जनप्रतिनिधिको जित र हारमा निर्णायक बन्छ।

नयाँबजार र पृथ्वीचोकमा सुकुम्बासीका पाँच टोल छन्। शान्ति टोल, शिव टोल, कृष्ण टोल, गणतन्त्र टोल,सहारा टोल गरी।

चुनावमा जिताउने र हराउने ल्याकत राखेका बासिन्दालाई भने आफैँले टेकेको जमिनको स्वामित्‍वले सधैं पोल्छ। आफैँले टेकेको जमिन आफ्नो छैन।

त्यही जमिनको नाममा राजनीति भने लामो भइसकेको छ। चुनावमा नारा बनिरहन्छ तर समस्या समाधान कहिल्यै हुँदैन।

बस्तीका बासिन्दा कुनै दलको विचार र सिद्धान्तसँग सम्बन्ध राख्दैनन्। चासो यत्ति छ कसैले आफूहरुलाई व्यवस्थापन गरिदिओस्। लालपूर्जा हातमा थमाइदेओस्। लालपूर्जा पाउने आशमा चुनावी नारा बोकेर दैलो अगाडि पुगेका हरेक दललाई विश्वास गर्छन्। कहिले माओवादी त कहिले एमाले र कांग्रेस। सबै दलको आश्वासनले आजित भइसकेको छन् उनीहरु।

शान्ति टोलमा जमुना विश्वकर्माले आफ्नो बीस वर्ष बिताइन्। त्यसअघि पृथ्वी चोकको पुल तल रहेको बस्तीमा बस्थिन् उनी। ०४९ सालमा पुल तलको जमिन भासियो। बसिरहेको जमिन भासिएपछि काखमा १८ दिनको बालक बोकेर शान्ति वन छेउ आएकी थिइन् उनी। जमुना जसरी आएर त्यहाँ बस्ती बसाउने अरु पनि छन्। जमुनाले यही बस्तीमा छोरा हुर्काइन् र बढाइन्। तर, अहिलेसम्म आफू बसेको जमिनको लालपूर्जा पाइनन्। लालपूर्जा पाउने आशमा दैलोमा आउने राजनीतिक दलको पछि लागिन्। तर, दलको चुनावी नारा मात्र बनेको सुकुम्बासीको समस्या समाधान नभएको गुनासो पोख्छिन् उनी।

‘हामी दुःख परेरै यहाँ बसियो। यत्रो बसियो अझै लालपूर्जा पाइएको छैन। हाम्ले एमालेलाई भोट दिएम् कांग्रेसलाई दिएम्। मेयरलाई जिताएम् पर्दाखेरी तिनैले हामीलाई हेर्दैनन्,’ उनले गुनासो पोखिन्,‘पहिला हजुरहजुर भनेर आँउछन् हाम्रो केही काम लिएर जाँदा पस्नै नहुनेझैं गर्छन्। अध्यक्षलाई जिताएम् तर हामीलाई केही दिन्नन्।’

आफूहरु राजनीतिक दलको चुनावी एजेन्डामात्र भएकोमा जमुना आजित छिन्। त्यसैले आउने निर्वाचनमा मतदान नै नगर्ने मनासाय राखेकी छिन् उनले। यो बाहेक उनको अर्को गुनासो पनि छ। रामघाटमा मजुदरी गरेर खाने उनको बाटो महानगरले नै बन्द गरिदियो। अधिकांश सुकुम्बासीको रोजीरोटीको बाटो रामघाट हो। ठेक्कामा विवादमा त्यो पनि बन्द छ। यसले सुकुम्बासी जनप्रतिनिधिप्रति थप रुष्ट छन्।

‘अब त भोट माग्न जुन नेता आएनी एक हात लालपूर्जा अर्को हात छाप दिन्छु भन्ने हो। मेरो र हाम्रो कुरा यही हो। बुढी भइयो सुकुम्बासीमा बसेर घाटमा पसिनाको धारा चुहाएर छोराछोरीलाई हुर्काएँ। खेती नै यही हो। कहिले बतासे भन्छन् कहिले के भन्छन्। पुलिस आउँछ लखेट्छ लुकीलुकी काम गर्नुपर्छ,’ उनले गुनासो पोखिन् ।

जमुनासँगै पृथ्वी चोकको बस्तीबाट सरेर आएका हुन् मण्डल सिंह पनि। सिंहको गुनासो छ सरकारले बस्तीका लागि योजना र बजेट पारेन। खानेपानीको पाइपदेखि ढल व्यवस्थापन र बाटो पिच सबै बस्तीका बासिन्दाले गर्नुपरेको सुनाउँछन् उनी। आफूहरुकै मिहिनेतले स्वरुप फेरिएको बस्तीको जग्गा सुकुम्बासीलाई दिन्न भन्न नमिल्ने उनको भनाइ छ।

‘पिच र नाली हाम्रै पैसाले बनाउने हामी घुँडा टेकेर बालुवा बोकेर जे गरेर भए पनि हामीले गर्‍यौँ अनि अहिले शान्ति वन यस्तो ठाउँमा सुकुम्बासीले कसरी पाउने भन्छन्। राम्रो लगाउन र खान हुँदैन र सुकुम्बासीले,’ उनले आक्रोश पोखे।

अब दलहरुको चुनावी नारालाई नपत्याउनेमा छन् सिंह पनि। राजनीतिक दलले नमस्कार मात्र गरेर सुकुम्बासीको भोट माग्न नसक्ने बताउँछन् मण्डल।

‘यत्रो सालसम्म हामीले सबैलाई जितायौँ सबै नेता भए कमाए ठाउँमा उनीहरु पुगे हामीलाई जहाँको त्यहीँ पछारे,’ उनले भने, ‘अब लालपूर्जा दिए छाप दिन्छौँ। मुन्टो हल्लाएर नमस्कार गरेर अब हुँदैन। लालपूर्जा दिन्न भने हामी भोट दिन सक्दैनौँ।’

गुनासोका पोका छन् बस्ती बासीसँग। फुकाउने ठाउँ छैन। सुनिदिने कोही छैनन्। लालपूर्जा पाउने आशामा पठाएको जनप्रतिनिधको कार्यकाल सकिनै लाग्यो।

स्थानीय तह निर्वाचनको मिति तोकिएसँगै पोखरामा चुनावको सरगर्मी बढेको छ। यता, सुकुम्बासीमा पनि जनप्रतिनिधीले दिएको आश्वासन पूरा नहुँदा आक्रोश थपिँदो छ।

शान्ति टोलकै दिलबहादुर गुरुङ आक्रोश पोख्छन्। अबको निर्वाचन बहिष्कार गर्ने बताउँदै। उनको परिवारबाट मतदान गर्ने संख्या छ जना छन्। परिवारले नै निर्वाचन बहिष्कार गर्ने उनी सुनाउँछन्।

‘हामी गरिबलाई किन यसरी थिचोमिचो गरेको छ? मागेर आकाश चढेको छ। भोलि बिहान आउँला मेरो दैलोमा बहिष्कार गर्नेमा म छु। मेरै घरबाट ६ भोट जान्छ तर बहिष्कार गर्छु,’ रिस पोख्दै उनले भने, ‘ किन भने एमालेलाई दिइएन कि, माओवादी र कांग्रेसलाई दिइएन कि तर कसैले यहाँ केही गरेनन्। अब मुख देखाउन आउने सक्ने हैसियत र नैतिकता उनीहरुमा छैन। हामीलाई धेरै पटक झुक्याइयो।’

कृष्णकुमारी चौधरीले पनि सरकारप्रति आक्रोश पालेर बसेकी छिन्।

‘कहिले कुन दल आउँछ कहिले कुन आउँछ। उही नेताहरुको पछि हिँड्दा हिँड्दा ३५ वर्ष बितिसक्यो। जिताइयो, पठाइयो। हामीले त के भने छौँ भने लालपूर्जा दिए भोट दिने नत्र बहिष्कार गरेर घरै बस्ने,’ उनले भनिन्।

तथ्यांक अनुसार वडा ९ पोखरामा सबैभन्दा बढी सुकुम्बासी भएको क्षेत्र हो। योबाहेक वडा ७, ३२, ३३ र १७ मा पनि सुकुम्बासीको बसोबास छ।

प्रदेश निर्वाचन कार्यालय, पोखराका अनुसार वडा ९ मा ४ हजार ९ सय ५८ मतदाता छन्। वडा ९ मा नौसय भन्दा बढी घरधुरी सुकुम्बासीकै हुन्। अघिल्लो निर्वाचनमा यस वडाबाट नेपाली कांग्रेसले जितेको थियो।

कांग्रेसका रामराज लामिछाने एक हजार १७४ मत ल्याएर निर्वाचित भएका थिए। एमाले उम्मेदवारले ९८२ मत पाउँदा माओवादी केन्द्रले ३३ मत मात्र पाएको थियो। वडामा कांग्रेसलाई समर्थन गरेका बस्ती बासीले पोखराको नेतृत्वमा भने मानबहादुर जिसीलाई समर्थन गरेका थिए।

अहिले आफैँले जिताएको जनप्रतिनिधिले बस्तीलाई नहेर्दा वाक्क छन्।

२५ वर्ष भयो गोमादेवी पराजुली तामाङ पृथ्वी चोकको बसपार्क क्षेत्रमा रहेको कृष्ण टोलमा बस्न थालेको। यो अन्तरालमा थुप्रै पार्टीले लालपूर्जाको आश्वासन दिएर घरदैलोमा आए। आश्वासनमा विश्वास गरेर गोमादेवी पनि विभिन्न पार्टीमा लागिन्। तर, न उनको हातमा लालपूर्जा लाग्यो न बस्तीले सरकारको बजेटबाट पानी र नालापानीको व्यवस्था पायो। राजनीतिक दलले भोट बैंक बनाएको दुखेसो छ उनको।

भन्छिन्, ‘केही नभएको अवस्थामा बसियो। यस्तोमा कोही पनि बस्दैन। जुन पार्टी आए पनि लालपूर्जा दिन्छौँ व्यवस्थित गछौँ भन्छन् तर गर्दैनन्। जबसम्म हाम्रो हातमा लालपूर्जा पर्दैन तबसम्म पार्टीको विश्वास छैन। हामीलाई त भेडाबाख्रालाई घाँस देखाएको जस्तो अवस्था छ।’

उमेरले ५० नाघिसकेकी प्रिती माया गर्बुजाले गणतन्त्र टोलमा बसरे छोराछोरी हुकाइन्। बालुवा चालेर पढाइन्। अझै पनि उनको आश सरकारले लालपूर्जा दिन्छ भन्ने छ। केही समय अगाडि सरकारले सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने समाचार उनको कानसम्म पनि पुगेको थियो। दललाई विश्वास गरेर जिताएको जनप्रतिनिधिप्रति आश थप पलायो। तर, निर्वाचनको मिति नजिएिकैसँगै उनको आश बालुवामा पानी हाले जसरी हराएको छ।

‘अहिले पनि देला जस्तो छैन। अस्ति-अस्ति त माघदेखि लालपूर्जा दिन्छु भनेका खै त! वैशाख लाइसक्यो हाम्ले भोट हाल्ने बेला भइसक्यो भोट नै नहाल्दिए हुन्थ्यो अब त,’ उनले सुनाइन्।

गणतन्त्र टोलको चोकमै बसेर लुगा सिउने काम गर्छन् कृष्ण परियार र बालकुमारी परियार। २२ वर्ष बित्यो दुबै त्यहाँ बसेको। लालपूर्जा पाउने आशमा जनप्रतिनिधिलाई जिताएर पठाएको। जितेर गएपछि एकपटक समेत फर्किएर आएनन् कोही। स्वार्थ लुट्नकै लागि मात्र सुकुम्बासीलाई प्रयोग गरेको कृष्णको बुझाइ छ।

‘निर्वाचन भनेको स्वार्थ लुट्ने रैछन्। व्यक्तिगत फाइदा लिने हामी सोझोसाझा सुकुम्बासीलाई देखाएर आफूहरु भाग्य बनाए,’ कृष्णले भने ।

चुनाव जित्ने एजेन्डा मात्र बनेको महसुस गरेका छन् सुकुम्बासीले। त्यसैले आउने निर्वाचनमा मतदानमा सहभागी नै नहुने भनाइ राख्छन् सबै। बालकुमारी बसेको क्षेत्र पोखरा बसपार्कमा पर्छ। महानगरले त्यस क्षेत्रमा व्यवस्थित बसपार्क निर्माण गर्ने योजना सारेको ०६१ सालमा हो। सुकुम्बासी बस्तीकै कारण योजना हालसम्म अघि बढ्न सकेको छैन। कहिलेकाहीँ पोखरा बसपार्कबारे कुरा उठ्दा सुकुम्बासीको विषय उठ्छ। स्थानान्तरको डर पनि छ बालकुमारीलाई।

‘पाँच वर्षभित्रमा सुकुम्बसीलाई लालपूर्जा दिन्छम् भन्ने यी नेता फर्किएर नि आउँदैन। हामी यहीँ ठाउँमा हुनुपर्ने उस्तै परे लौ उठाउँछौँ भन्ने,’ उनले भनिन्,‘तैँले भोट हालिनस् भनेर नारा लगाउँदैन क्यारे। सुकुम्बासीलाई हुकुम्बासी बनाए नेता को बन्ने?’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell