PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

वीरगंजमा सरावगी भर्सेस् सिंहः कसको पकड कस्तो, कसले मार्ला बाजी?



राधेश्याम पटेल

वीरगंजमा सरावगी भर्सेस् सिंहः कसको पकड कस्तो, कसले मार्ला बाजी?

वीरगंजः स्थानीय तह निर्वाचनको मनोनयन नजिकिँदो छ। सत्ता गठबन्धनले महानगर तथा उपमहानगरको सिट भागबन्डा टुगो लगाएको छ। गठबन्धन उम्मेदवार छनोटको चरणमा छ। यस्तै प्रमुख प्रतिपक्ष नेकपा (एमाले) पनि तालमेलको प्रयास र उम्मेदवार टुंगो लगाउने प्रयत्नमै छ।

केही स्थानमा गठबन्धन र विपक्षी दुबैले उम्मेदवार टुंगो लगाइसकेका छन्।

मधेश प्रदेशको एकमात्र महानगर वीरगंजमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह र एमालेबाट वर्तमान मेयर विजय सरावगी प्रतिस्पर्धामा उत्रने लगभग निश्चित जस्तै छ। सरावगी पुनः उम्मेदवार बन्नकै लागि एमाले जसपाबाट एमाले प्रवेश गरेका थिए।

अघिल्लो स्थानीय तह निर्वाचनमा महानगर प्रमुखमा तत्कालीन संघीय समाजवादी फोरमका सरावगी विजयी भएका थिए। उपप्रमुखमा कांग्रेस विजयी भएको थियो।

प्रमुखमा सरावगीले १९ हजार ३९३ मत पाएका थिए। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अजयकुमार द्विवेदीले १७ हजार १९७ मत पाएका थिए।

तत्कालीन राजपाका राजेशमान सिंहले १२ हजार १६५,  लोकतान्त्रिक फोरमका विमलप्रसाद श्रीवास्तवले ८ हजार ७०१, एमालेका महम्मद बसरुद्दिन अन्सारीले ८ हजार ६९९ र माओवादी केन्द्रका रहवर अन्सारीले ८ हजार ३०५ मत पाएका थिए।

उपप्रमुखमा कांग्रेसकी शान्ति कार्कीले १९ हजार ६०७ मत पाएर विजयी भएकी थिइन्।

मधेशी दल र एमालेमा आएको फुटका कारण कुन दलको शक्ति कति छ स्थानीय चुनावमै परीक्षण हुनेछ।

अघिल्लो चुनावमा कमजोर सावित भएको एमाले अहिले सुदृढ भइरहेको नेताहरुको दाबी छ। तर सत्ता गठबन्धनमा कुनै मतभेद नभएमा एमालेलाई महानगरमा जित हासिल गर्न सहज छैन।  

वीरगंजमा अहिले एक लाख २४ हजार ६४७ मतदाता छन्। गत चुनावमा वीरगंजमा ६३ प्रतिशत मत खसेको थियो।

को होला हाबी?

वर्तमान मेयर सारवगीले पार्टी बदलेका कारण एमालेसँगै व्यक्तिगत मत पाउनेमा आशावादी छन्। जसपाबाट चुनाव लड्दा पाएकोमध्ये ४० प्रतिशत मत आफूले पुनः पाउने दाबी उनको छ। मेयरसँगै ४ वडाध्यक्ष एमाले प्रवेश गरिसकेका छन्। उनीहरु एमालेबाटै चुनावमा भाग लिने वा सघाउने नीतिमा छन्। यसअघि ३२ मध्ये ६ वडामा एमालेले जित हासिल गरेको थियो।

एमालेले कांग्रेसबाट निर्वाचित वडा नम्बर २१ का अध्यक्षलाई पनि भित्र्याएको छ।

गठबन्धनका दलहरुले पनि अगामी चुनावमा आफूहरु नै बलियो रहेको दाबी गरेका छन्। एमालेविरुद्ध उनीहरु एकजुट भएर चुनाव लड्‍नेछन्।  

जसपाका नेता प्रदीप यादव एमालेविरुद्ध सबै दलले सहयोग गर्ने विश्वास व्यक्त गर्छन्। गठबन्धनमा वीरगंज जसपाको भागमा परेको छ।

‘वीरगंजको मात्र होइन, गठबन्धनले देशभरका महानगर र उपमहानगरमा तालमेल गरेर उम्मेदवार अघि सारिसकेको अवस्था छ,’ उनले भने, ‘मलाई लाग्दैन हामीसँग अन्य दलका नेता कार्यकर्ताहरुले घात गर्नुहुन्छ। गठबन्धनको लक्ष्य एमालेलाई पराजित गर्नु हो', यादवले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell