PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

कम्युनिस्ट पार्टीको स्थापना दिवसमा ओलीमाथि प्रचण्डको प्रहार : प्रतिगमनको खतरा अझै बाँकी छ



पहिलोपोस्ट

कम्युनिस्ट पार्टीको स्थापना दिवसमा ओलीमाथि प्रचण्डको प्रहार : प्रतिगमनको खतरा अझै बाँकी छ

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै गत वर्ष कम्युनिस्ट आन्दोलनको प्रतिगामी तत्तवले संविधानमाथि प्रहार गरेको आरोप लगाएका छन्। नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन्।

'शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्न छोडेर कम्युनिस्ट आन्दोलनको प्रतिगामी प्रवृत्तिले गत वर्ष संघीय गणतन्त्र, लोकतान्त्रिक प्रणाली र संविधानमाथि एकपछि अर्को प्रहार गर्‍यो,' अध्यक्ष प्रचण्डले जारी गरेको सन्देशमा भनिएको छ, 'वामपन्थी, देशभक्त एवं लोकतान्त्रिक शक्तिहरूको साझा संघर्षको परिणाम तत्कालका लागि उक्त प्रतिगमन पराजित हुन पुग्यो। तर, प्रतिगमनको खतरा पूर्णतः अन्त्य भएको छैन।'

ओली प्रधानमन्त्री हुँदा दुई पटक प्रतिनिधि सभा विघटन गरेका थिए। त्यसपछि नेकपामा माओवादी र माधव नेपाल पक्षले ‌ओलीको कदमविरुद्ध सडकमा उत्रेका थिए। विवाद चर्किएपछि संसदीय निर्वाचनअघि एक भएको नेपाल कम्युनिस्ट पार्टी तीन टुक्रा भयो। जसमा एमालेको नेतृत्व ओलीले, माओवादीको नेतृत्व प्रचण्डले र एकीकृत समाजवादीको नेतृत्व नेपालले गर्दै आएका छन्।

प्रचण्डले यस्तो प्रवृत्तिविरुद्ध संघर्ष गर्दै प्राप्त उपलब्धिक रक्षा गर्न गठबन्धनका उम्मेद्वारलाई जिताउनसमेत अपिल गरेका छन्। हाल प्रचण्ड र नेपाल सत्ता कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा सहभागी छन्।

'दक्षिणपन्थी संशोधनवाद, राष्ट्रिय आत्मसमर्पणवाद, प्रतिगामी एवं तानाशाही प्रवृत्तिविरूद्ध संघर्ष गर्दै प्राप्त उपलब्धीहरूको रक्षासहित समाजवादको आधार तयार पार्नु यतिबेला सच्चा कम्युनिस्टहरूको ऐतिहासिक जिम्मेवारी हुन आएको छ। प्रतिगमनविरूद्धको संयुक्त संघर्षको क्रममा गठित वाम–लोकतान्त्रिक गठबन्धन प्राप्त उपलब्धीहरू, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ छ,' उनले भनेका छन्, 'यही मान्यताका आधारमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले सबै स्थानीय तह र वडाहरूमा तालमेललाई प्रभावकारी बनाउने निर्णय गरेको छ। तसर्थ, आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार पार्न गठबन्धनमा आवद्ध दलका नेता–कार्यकर्ता र सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा विशेष अपील गर्दछु।

नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थापना दिवसको अवसरमा प्रचण्डले बेपत्ता योद्धाहरूप्रति उच्च सम्मानका साथ घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्। आजको दिन श्रमजीववी वर्गको लागि गौरवको दिन भएको उनले बताएका छन्। देश सामाजिक न्यायमा आधारित समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको पूर्वसन्ध्यामा रहेको प्रचण्डको भनाई छ।

'आजको दिन देशभित्रका कम्युनिस्ट क्रान्तिकारीहरूका लागि मात्र नभएर विश्वभरिकै सर्वहारा एवं श्रमजीवी वर्गका निम्ति गौरवको दिन हो। रूसी क्रान्तिका नायक लेनिनको जन्मजयन्तीको अवसर पारेर स्थापना गरिएको नेकपाले ७३ वर्षको अन्तरालमा देशभित्र आमूल परिवर्तनको नेतृत्व गरेको छ,' शुभकामना सन्देशमा भनिएको छ, 'कम्युनिस्ट क्रान्तिकारीहरूको अगुवाइ र लोकतान्त्रिक शक्तिहरूको हिस्सेदारीमा पुँजीवादी जनवादी क्रान्ति आफ्नै विशेषता र मौलिकतासहित सम्पन्न भएको छ, देश सामाजिक न्यायमा आधारित समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको पूर्वसन्ध्यामा छ। यो हामी सबै नेपालीहरूका लागि गौरवको कुरा हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell