हेटौंडा : हेटौंडा-९ मा निर्माण हुँदै गरेको दिब्य बाल उद्यानमा रहेको मदन भण्डारी र जीवराज आश्रितको अर्धकदको प्रतिमा तोडफोड भएको छ। जीवराज आश्रितको प्रतिमा पुरै उखेलेर फालिएको छ भने मदन भण्डारीको शिर भाँचेर लगभग ५० मिटरको दुरीमा लगेर फालिएको अवस्थामा भेटिएको छ।
तोडफोड कसले र किन गरेको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ। बिहान पार्कमा 'मर्निङ वाक' मा पुगेका स्थानीयले प्रतिमा तोडफोड भएको अवस्थामा देखेपछि पार्क ब्यवस्थापन समितिलाई जानकारी गराएका थिए। त्यसपछि घटनाबारे प्रहरीलाई जानकारी गराएको समितिले जनाएको छ। घटनास्थलमा अहिले ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक अबिनाश अधिकारीसहितको टोली पुगेका छन्।
घटनाको अनुसन्धान शुरु भइसकेको अधिकारीले बताए।
आसन्न स्थानीय निर्वाचन नजिकिँदै गर्दा यस किसिमको घटनाले नियोजित रुपमा राजनीतिक पूर्वाग्रह राखेर नै तोडफोड गरिएको हेटौंडा-९ का वडा अध्यक्ष लक्ष्मणप्रसाद भन्डारीले आरोप लगाए। पार्कमा अन्य कुनै संरचनालाई क्षति नगरी मदन-आश्रितको प्रतिमा तोडिनुले वडाको गौरवको योजनाको रुपमा रहेको पार्क निर्माणको लक्ष्यमा ठेस पुगेको उनको भनाई छ।
गत असार १४ गते वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलबाट मदन-आश्रितको अर्धकदको प्रतिमा अनावरण गरिएको थियो।