
रसिया र युक्रेनबिचको युद्ध सुरु भएको आज ५७ औं दिन पुगेको छ। युद्धका कारण ५० लाख युक्रेनी नागरिकहरु पलायन भइसकेका छन्। दुवै तर्फबाट हजारौं मानिसको मृत्यु भइसकेको छ।
अहिले डोनवास र लुहान्सकमा युक्रेनी सेना र रसियाली सेनाबिच युद्ध जारी छ। यी दुवै विद्रोही क्षेत्रलाई स्वतन्त्र राज्य घोषणा गरेपछि रसियाले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो।
युद्धका कारण युक्रेनका कयौं शहर खण्डहर बनेका छन्। विश्व बैंकका अनुसार युद्धपछि करिब ६० बिलियन डलर युक्रेनी सम्पत्तिको विनाश भएको छ। युक्रेनका भौतिक पूर्वाधार र आवासीय क्षेत्रहरु नष्ट भएको मूल्याकंनको आधारमा क्षतिको विवरण निकालिएको हो। यसमा युद्धका लागि खर्च भएको रकम जोडिएको छैन। विश्व बैंकका अध्यक्ष डेभिड मलपासले क्षतिको रकम आउने दिनमा बढ्दै जाने बताएका छन्।
युद्धका कारण चरम आर्थिक संकटमा पुगेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले अर्थ व्यवस्थालाई बलियो बनाउन प्रति महिना ७ बिलियन डलर आवश्यक रहेको बताएका छन्। उनले युक्रेनलाई पुन: निर्माण गर्न सयौं बिलियन डलर चाहिने समेत बताएका छन्। युक्रेनका लागि अमेरिकाले ८०० मिलियन डलर सहायता घोषणा गरिसकेको छ।