PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

माओवादी छाडेर गएकालाई फर्किन प्रचण्डको आह्वान, यसकारण टुट्यो एमालेसँगको एकता



पहिलोपोस्ट

माओवादी छाडेर गएकालाई फर्किन प्रचण्डको आह्वान, यसकारण टुट्यो एमालेसँगको एकता

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलनबाट विभाजित सबै नेता तथा कार्यकर्ताहरुलाई एकतामा आउन आह्वान गरेका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा नेपाल कम्युनिष्ट पार्टीको ७३ औँ स्थापना दिवस तथा १५२ औँ लेनिन जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले माओवादी आन्दोलनबाट विभाजित सबै नेता, कार्यकर्ता तथा पार्टीहरुलाई एकतावद्ध हुन आह्वान गरेका हुन्।

उनले जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका मुद्दाहरु उल्ट्याउने षड्यन्त्र भएको भन्दै जनताको अधिकार र पहिचानका पक्षधरहरु एकतावद्ध हुनु आवश्यक रहेकोमा जोड दिए।

‘हामी सबै यो परिवर्तनका पक्षधरहरु, यो परिवर्तनको निम्ति त्याग र बलिदानका कीर्तिमान कायम गर्नेहरु सबै एक ठाउँमा केन्द्रीत हुन जरुरी छ। माओवादी आन्दोलनलाई र क्रान्तिकारी कम्युनिष्टलाई विभाजित गरेर मात्रै आफ्नो प्रतिक्रियावादी सत्ताको पुर्नप्राप्ति हुनसक्छ,’ उनले भने, ‘फेरि निरंकुशता लाद्न सकिन्छ भन्ने ठान्नेहरु छन् र त्यसको निम्ति कसरत भई नै राखेको छ। त्यसकारण म सबै परिवर्तनमा सहभागी माओवादी र सबै कम्युनिष्ट आन्दोलनका क्रान्तिकारी नेता, कार्यकर्ताहरुलाई विशेष रुपले अपिल गर्न चाहन्छु।’

उनले विगतमा कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध बनाउनका लागि नेकपा एमालेसँग एकिकरण गरेको उल्लेख गरे। तर, एमाले नेतृत्वको वैचारिक तथा सांस्कृतिक विचलन र व्यक्तिवादी विर्सजनवादी चिन्तनका कारणले एकता सफल हुन नसकेको उनको दाबी छ। उनले एमालेभित्रका वाम गठबन्धनका पक्षधरहरुले पार्टीभित्र संघर्ष गर्नुपर्ने पनि समेत बताए।

‘सम्पूर्ण एमालेभित्रका ति इमान्दार कम्युनिष्टहरु, जो साँच्चै वाम गठबन्धनको पक्षमै हुनुहुन्थ्यो। हुनुहुन्छ अहिलेपनि कम्युनिष्टहरुको एकता आवश्यक छ भन्ने ठान्नुहुन्छ। अहिलेपनि उहाँहरुलाई गलत प्रवृत्तिको विरुद्ध संघर्ष गर्न प्रेरणा मिलोस्,’ प्रचण्डले भने, ‘आज पार्टी स्थापना दिवसले, लेनिन जयन्तीको यो ऐतिहासिक दिनले इमान्दार कम्युनिष्टहरु सबैलाई फेरी एकचोटी कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नुछ।’

दाहालले माओवादी आन्दोलनमा उत्साहपूर्ण ध्रुविकरणको प्रक्रिया सुरु भएको समेत बताए। साथै, विगतमा पार्टी छोडेर जानेहरुले विभाजनको औचित्य पुष्टि गर्न नसकेर मुल घरमै फर्किने क्रम बढेको दाबी समेत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell