
काठमाडौं : कर्तव्य ज्यान मुद्दामा तीन वर्षदेखि फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-७ बस्ने रानी देवी मण्डल रहेकी छन्।
उनी बिहीवार पक्राउ परेको प्रहरीले जनाएको छ। कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सप्तरीले उनीविरुद्ध २०७५ फागुन १५ गते २० वर्ष कैद सजाय सुनाएको थियो।
फरार रहँदै आएकी उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले राजगढ गाउँपालिका-५ मलेखपुर गाउँबाट लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
रानी देवीले आफ्नी २ वर्षीया छोरी प्रमिला मण्डललाई २०७३ साउन १२ गते दिउँसो हत्या गरी हनुमानगर राजबिराज सडकको खाडो खोलामा आएको बाढीमा फालेर बेपत्ता पारेको प्रहरीले बताएको छ। सोही मुद्दामा उनलाई अदालतले दोषी ठहर गरी उनी उपर सो फैसला गरेको थियो।
उनलाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय राजबिराज पठाइएको प्रहरीले जानकारी दिएको छ।