
बुटवल : रुपन्देहीका पूर्व कांग्रेस नेता मातृका प्रसाद यादव जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छन्।
शुक्रवार भैरहवामा आयोजना गरिएको कार्यक्रममा यादवलाई जसपा नेताहरू सहसराम यादव, सुमन शर्मा रायमाझी, महेन्द्र यादव, ओमप्रकाश यादव लगायतले पार्टीमा स्वागत गरेका हुन्।
कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का पूर्व क्षेत्रीय सभापति समेत रहेका नेता यादवले केही दिन अघि नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका थिए। यादव २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसबाट सिद्धार्थनगर नगरपालिकामा प्रमुख पदको उम्मेदवार समेत रहेका थिए। तर, उनी एमालेका हरि अधिकारीसँग पराजित भएका थिए।
कांग्रेस १४ औं महाधिवेशनदेखि नै विधि, विधान नचलेकाले आफूले पार्टी परित्याग गरेको नेता यादवले बताएका छन्।
‘पार्टीको नेतृत्वले विधि, विधान मानेन। मैले सुधार गर्नका लागि पार्टीभित्र आग्रह गर्दै आएँ। आवाज उठाएँ। तर सुनुवाई भएन। जहाँ मान, सम्मान, विचार छैन, त्यहाँ बस्नुको औचित्य छैन,’ उनले भने।
आसन्न स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा विभिन्न पार्टीका स्थानीय नेताहरू दल बदल्ने कार्यमा लागेका छन्। आफू संलग्न दलबाट स्थानीय तहको निर्वाचनमा टिकट नपाउने भएपछि उनीहरूले दल बदल्ने गरेको देखिएको छ। जसपा प्रवेश गरेका यादव अब सोही पार्टीबाट सिद्धार्थनगरको नगर प्रमुख पदको उम्मेदवार बन्न सक्ने चर्चा चलेको छ।