PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

नेकपा एमालेले सार्वजनिक गर्‍यो घोषणापत्र, व्यावसायिक खेती गर्न भूमि बैंकमार्फत जमिन दिने वाचा



पहिलोपोस्ट

नेकपा एमालेले सार्वजनिक गर्‍यो घोषणापत्र, व्यावसायिक खेती गर्न भूमि बैंकमार्फत जमिन दिने वाचा

काठमाडौं : नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचन लक्षित घोषणा पत्र सार्वजनिक गरेको छ। च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा रहेको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणा पत्र सार्वजनिक गरेका हुन्।

घोषणापत्रमा ओली सरकारको समयमा भएका विकासका काम उल्लेख गरिएको छ। यस्तै, स्थानीय तह निर्वाचन लक्षित विकासका अवधारणाहरु प्रस्तुत गरिएको छ।

सार्वजनिक गरिएको घोषणा पत्रमा आगामी दिनमा पार्टी कसरी अघि बढछ भन्ने स्पष्ट योजना उल्लेख गरिएको पार्टीका  वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दिए।

आजै सबै पालिका तहका पार्टी कमिटीले पनि आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको एमालेका महासचिव शंकर पोखरेलले बताए।

घोषणापत्रमा एमालेले विद्यालय जाने उमेरका सबै बालबालिकालाई प्रारम्भिक बालविकास लगायत आधारभूत तथा माध्यमिक शिक्षामा सहज पहुँच पुर्‍याउने, बिचैमा पढाइ छाड्ने समस्याको समाधान गर्ने, विद्यालय जान नसक्ने बालबालिकाका लागि विशेष व्यवस्था गर्ने, विपदका कारण विद्यालय जानबाट बञ्चित बालबालिकाहरूका लागि विशेष व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रत्येक पालिकामा निर्माणाधीन आधारभूत अस्पताल सम्पन्न गर्ने, प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण र सञ्चालन गर्ने, त्यसका लागि आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापन गर्ने एमालेको प्रतिबद्धता छ।

प्रत्येक नागरिकका घरमा विद्युत सुविधा उपलब्ध गराउने, विपन्न परिवारलाई घरायशी प्रयोगको विद्युत निःशुल्क उपलब्ध गराउने घोषणापत्रमा उल्लेख छ।

त्यस्तै, ‘एक घर एक धारा’ अभियान अन्तरगत आगामी दुई वर्षभित्र सबै नागरिकमा खानेपानीको सुलभ आपूर्ति सुनिश्चित गर्ने, खानेपानी व्यवस्थापनमा जनसहभागिता सुनिश्चित हुने गरी उपयुक्त संयन्त्र निर्माण गर्ने, ठूला खानेपानी आयोजना सङ्घ र प्रदेशसँगको सहकार्यमा निर्माण गर्ने एमालेले प्रतिबद्धता जनाएको छ।

यसैगरी, भू-उपपयोग नीतिलाई प्रभावकारी कार्यान्वयन गर्ने, कृषियोग्य जमिनको जथाभावी प्रयोगलाई नियन्त्रण गर्ने, व्यावसायिक खेती गर्न चाहनेहरूलाई भूमिबैंक मार्फत् आवश्यक जमिन उपलब्ध गराउने, लिज, करार र सहकारी मार्फत खेती गर्न त्यस्ता जमिनका सन्दर्भमा आवश्यक कानुनी प्रबन्ध र राज्यको सुरक्षा प्रत्याभुत गर्ने घोषणापत्रमा भनिएको छ।

यस्तै, सडक, हवाइ, जल, केबुलकार र रोपवे, दूरसञ्चार लगायत आवागमन र सञ्चार सम्बन्धका सबै माध्यमहरूको विकास र प्रयोग गरी आवागमन, सेवा र आपूर्ति व्यवस्थालाई सहज र आधुनिक बनाउने, प्रत्येक पालिका केन्द्रलाई पक्की सडकले जोड्ने एमालेको प्रतिबद्धता छ। प्रत्येक वडा केन्द्रलाई सडक पूर्वाधारमार्फत् पालिका केन्द्रसँग जोड्ने, हरेक वस्तीहरूलाई उपयुक्त यातायात पूर्वाधारबाट नजिकको प्रशासनिक केन्द्र र बजारसँग जोड्ने एमालेले प्रतिबद्धता जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell