PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

कांग्रेस रुपन्देहीका क्षेत्रीय सभापति लम्सालले गरे पार्टी परित्याग



पहिलोपोस्ट

कांग्रेस रुपन्देहीका क्षेत्रीय सभापति लम्सालले गरे पार्टी परित्याग

बुटवल : नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले पार्टी परित्याग गरेका छन्।

शुक्रवार जिल्ला पार्टी कार्यालय भैरहवा पुगेर राजीनामा बुझाएका उनले स्थानीय तह निर्वाचनका सन्दर्भमा पार्टी नेतृत्वले कार्यकर्ताको भावना र विधान विपरीत एकलौटी निर्णय गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको उल्लेख गरेका छन्।

पार्टीले एकलौटी र षड्यन्त्रपूर्वक नगर प्रमुखहरुको नाम सिफारिस गरेको उनको आरोप छ। लम्साल बुटवल उपमहानगरपालिकाको प्रमुख पदका आकांक्षी समेत थिए। तर, कांग्रेसको बुटवल नगर समितिले दुई दिनअघि बुटवलको प्रमुख पदको उम्मेदवारमा खेलराज पाण्डेको नाम सिफारिस गरेको छ।

लामो समयदेखि नेपाली कांग्रेसको राजनीति गर्दै आएका लम्साल दुई कार्यकाल क्षेत्रीय सभापति रहेका थिए। पार्टीमा इमान्दारीता, निष्ठा र विधानको कुनै महत्व नरहेको भन्दै उनले राजीनामा दिएको उल्लेख गरेका छन्।

यसैबिच, कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का पूर्व क्षेत्रीय सभापति मातृका प्रसाद यादवले पनि तीन दिन अघि राजीनामा दिएका थिए। उनी शुक्रवार जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरिसकेका छन्।

आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा विभिन्न पार्टीका स्थानीय नेताहरू दल बदल्ने कार्यमा लागेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell