
बुटवल : गुल्मीको इस्मा गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसले अध्यक्ष पदका उम्मेदवार टुंगो लगाएका छन्।
आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा इस्मामा नेकपा एमालेले गाउँपालिका अध्यक्ष पदमा हिरा एसीलाई अगाडी सारेको छ। यस्तै, नेपाली कांग्रेसले अध्यक्षमा भगत खड्कालाई उम्मेदवार बनाउने भएको छ। गाउँपालिकाको नेतृत्वका लागि दुवै दलले यूवा आकांक्षीलाई नै अघि सारेका छन्।
नेकपा एमालेले गाउँपालिका अध्यक्षको उम्मेदवारको लागि चारजनाको नाम सिफारिस गरेको भए पनि एमालेको लुम्बिनी प्रदेश कमिटीले एसीलाई उम्मेदवार बनाउने गरि निर्णय गरेको पार्टीका गाउँ कमिटी अध्यक्ष राजेन्द्र विक्रम कुँवरले जानकारी दिए।
एमालेबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बन्नका लागि हालका गाउँपालिका अध्यक्ष लक्ष्मण विष्ट, समन्वय समिति प्रमुख लक्षमण पराजुली, ललिता गौतम र एसीको नाम सिफारिस भएको थियो। एमालेबाट उपाध्यक्षको लागि चारजनाको नाम सिफारिस भएपनि अझैसम्म टुंगो लागेको छैन।
२०५६ सालमा एमालेको पार्टी सदस्यता प्राप्त गरेका एसी २०६१ सालमा अनेरास्ववियु गुल्मीको अध्यक्ष भएका थिए। २०६६ सालमा एमालेको जिल्ला सचिवालय सदस्य भएका एसी नेकपा हुँदा जिल्ला कार्यालय सदस्य र २०६७ मा तत्कालिन उर्जामन्त्री गोकर्ण विष्टको स्वकीय सचिव भएका थिए। अहिले उनी एमालेको प्रदेश कमिटी सदस्य छन्।
त्यस्तै कांग्रेसबाट अध्यक्ष पदका प्रत्यासी खड्का सुरुदेखि नै नेपाल विद्यार्थी संघ (नेविसंघ)को राजनीति गर्दै नेपाली कांग्रेसको क्षेत्रिय सभापति समेत भएका थिए। हाल उनी जिल्ला सचिव रहेका छन्।
कांग्रेसले उपाध्यक्षमा अधिवक्ता एवं महासमिति सदस्य पार्वती कुँवरलाई उम्मेदवार बनाएको छ। उपाध्यक्षकी उम्मेदवार कुँवर नेविसंघको जिल्ला कार्य समिति हुँदै गएको अधिवेशनमा अत्यधिक मत ल्याएर महासमिति सदस्यमा विजयी भएकी हुन्।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा इस्मा गाउँपालिकामा नेकपा एमालेका लक्षमण बहादुर विष्ट पाँच हजार ५५ मतसहित विजयी भएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका चन्द्र बहादुर महतले चार हजार मत ल्याएका थिए। इस्मामा वडा नम्बर १ मा कांग्रेसका उम्मेदवार विजयी भएका थिए भने अन्य पाँच वडामा एमालेका उम्मेदवार विजयी भएका थिए।