काठमाडौं: राष्ट्रिय खेलकुद परिषद (राखेप) तीन वर्षपछि बैठक सम्पन्न भएको छ। आज बसेको बोर्डको १ सय १२ औं बैठकले जेठमा तय गरिएको नवौं राष्ट्रिय खेलकुद र १९ औं एसियाली खेलकुदको तयारीबारे केन्द्रीत भएको राखेपका सदस्यसचिव टंकलाल घिसिङले बताए। राखेपको बोर्ड बैठक शुक्रबारै सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा बैठक बसेको थियो ।
आठौं राष्ट्रिय खेलकुदमा समावेश ३५ खेलसहित ३८ वटा खेल आयोजना गराउने बोर्डले निर्णय गरेको घिसिङले बताए। जसमध्ये दुईवटा खेल प्रदर्शनीका रुपमा हुनेछन्।
नवौं राष्ट्रिय खेलकुदमा एथलेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, कबड्डी, भात्तोलन, सुटिङ, जिम्नास्टिक, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उस्सु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खोखो, कराँते, फुलकन्ट्याक्ट कराँते, आइटीएफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन, प्याराग्लाइडिङ, रग्बी सेभेन ए साइड, छेलो (प्रदर्शनी), क्यानोइङ (प्रदर्शनी) खेलहरुमा प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिता जेठ २२ गतेदेखि २८ गतेसम्म गण्डकी प्रदेशमा हुँदैछ।
राष्ट्रिय खेलकुदमा सातवटा प्रदेश, तीन विभागीय टोली र एनआरएनले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा अनुमानित ६ हजार ८ सय खेलाडी, १ हजार प्रशिक्षक, ५ सय व्यवस्थापक, १ सय १४ संघ प्रतिनिधि र १ हजार निर्णायक हुने अनुमान राखेपको छ।
त्यस्तै एसियायी खेलकुदमा १९ खेलमा सहभागिता जनाउने तयारी छ। जसमा तेक्वान्दो, कराते, बक्सिङ, एथ्लेटिक्स, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथोलन, उस्सु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सिङ, महिला ह्याण्डबल र टेबलटेनिस रहेका छन्। एसियन खेलकुदमा १५० जना खेलाडी, २८ प्रशिक्षक र २० व्यवस्थापक रहने राखेपको अनुमान छ।