धनगढी: कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीहरु एपीएफ क्लब र नेपाल पुलिस क्लब शनिबार भिड्दै छन्। वनदेवी युवा क्लबको आयोजना वैशाख ३ गतेदेखि सुरु भएको प्रतियोगिताको लागि शनिवार फाइनल खेल हुँदैछ।
शुक्रबार धनगढी रंगशालामा भएको प्रि म्याच कन्फ्रेन्समा फाइनलिष्ट दुबै टोलीका कप्तान र प्रशिक्षकले उपाधि जित्ने दावी गरेका छन्। उत्कृष्ट लयमा रहेको एपीएफकी कप्तान अनिता बस्नेतले फाइनल जित्नका लागि खेल्ने बताइन्। उनले रातीको समयमा खेल्दा केही कठिनाई भएको भएपनि उपाधि आफ्नो टीमले जित्ने दावि गरिन्।
‘पहिलो पटक फर्ड लाईटमा खेल्दा केही समस्या भएको छ। कुनै वेला लाईट बिग्रिँदा खेलको रिदम विग्रने समस्या छ।’ कप्तान बस्नेतले भनिन्‘महिला गोल्डकप पहिलो पटक भएको हुँदा जसले हामी सबैलाई उत्साहित बनाएको छ। हामी च्याम्पियन हुन्छौँ। त्यही हिसाबको तयारी छ।'
त्यस्तै एपीएफएका प्रशिक्षक जनकसिंह थारुले पनि जित्नको लागि खेल्ने बताए।
‘लिगमा पनि लगातार जितिरहेका छौं। नकआउट प्रतियोगिता पनि जित्छौं।’ प्रशिक्षक थारुले भने,‘हामीले पुलिसलाई हराउँदै आएका छौं। फेरि पनि हराएर उपाधि जित्छौं।’
प्रतियोगिताको फाइनलमा एपीएफले अर्को विभागीय टोलीआर्मीलाई ३–२ ले हराउँदै फाइनलको यात्रा तय गरेको थियो भने थियो भने क्वाटरफाइनलमा विराटनगर महानगरपालिकालाई ८–० को फराकिलो अन्तरले हराएको थियो।
त्यस्तै नेपाल पुलिस क्लबले पनि उपाधि लक्ष्य राखेको छ। लामो समयपछि फाइनलमा पुगेकोले सोही अवसरलाई मौकामा बदल्ने पुलिसकी कप्तान घिमकुमारी गुरुङले बताइन्।
‘जित्नको लागि खेल्छौं। सबै जनाले त्यही अनुसार तयारी गरेका छौं।’ कप्तान गुरुङले भनिन्,‘लाइटमा नयाँ अनुभव लिइरहेका छौं। रमाइलो पनि भइरहेको छ।’ उनले भनिन्।
पुलिसका प्रशिक्षक संजीव जोशीको तर्क पनि कप्तान गुरुङसँग मिल्छ। उनी टिमले प्रगति गरिरहेको बताउँदै फाइनल जित्ने लक्ष्य रहेको बताउँछन्।
‘धेरै बर्षपछि फाईनल पुगेका छौं। जित्नको लागि खेल्छौं।’ प्रशिक्षक जोशीले भने,‘मैदानमा केही समस्या छ। बललाई चाहे अनुसार खेलाउन गाहे भइरहेको छ। नयाँ फर्मेसन् अनुसार टीमले पनि प्रगति पाइरहेको छ। राम्रै नतिजा आउँछ।’
पुलिसले सेमिफाइनलमा आयोजक वनदेवी युवा क्लबलाई ३–० को अन्तरले हराएको थियो भने क्वाटरफाईनलमा चन्द्रपुर नगरपालिकालाई १–० ले हराएको थियो।
शनिबार धनगढी रंगशालामा समापन हुने गोल्डकपको विजेताले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ।