PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मेल नखाएको एमालेको पाँच वर्षः चुनावी घोषणापत्र किन गरेन समीक्षा?



प्रकाश भण्डारी

मेल नखाएको एमालेको पाँच वर्षः चुनावी घोषणापत्र किन गरेन समीक्षा?

काठमाडौँ: नेकपा (एमाले) ले आसन्न स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन्। ओलीले आफू नेतृत्वको सरकारले गरेका कामलाई उल्लेख गर्दै स्थानीय तहको घोषणापत्र सार्वजनिक गरे।

एमालेले २०७४ साल जेठ १८ गते पनि शुक्रबारकैझैँ निर्वाचन घोषणापत्र सार्वजनिक गरेको थियो। पाँच वर्षअघि ५३ बुँदे घोषणापत्र तयार पारेको एमालेले आसन्न निर्वाचनका लागि ७ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ।

लोकप्रिय नारा दिएर एमालले पाँच वर्षअघि स्थानीय तहमा सबैभन्दा धेरै २९४ स्थानीय तहमा जित निकालेको थियो। अहिलेको घोषणापत्रमा पनि पाँच वर्षअघिकै जस्तै लोकप्रिय नारा दिइएको छ। स्वास्थ्य, शिक्षा, यातायात, वातावरण र विकासलाई प्राथमिकतामा राखेर आसन्न स्थानीय तहको घोषणापत्र तयार पारेको एमालेले आफू नेतृत्वको सरकार र एमालेका जनप्रतिनिधिले गर्न नसकेका कामको बारेमा भने केही चर्चा गरेको छैन। केन्द्रबाट घोषणापत्र जारी गरेको एमालेले आजै हरेक पालिकाबाट प्रतिवद्धतापत्र जारी गर्न निर्देशन दिएको थियो।

यो पाँच वर्षको बीचमा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी नेकपा बनेको थियो। नेकपाकालीन सरकारलाई ढालेर तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसलाई सत्ता सुम्पिएको आरोप लगाइएको छ।

त्यो घोषणा र यो घोषणा

२०७४ सालमा घोषणापत्र सार्वजनिक गर्दा अध्यक्ष ओलीले दायाँबायाँ तत्कालीन वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल राखेका थिए। वामदेव गौतम पनि पाँच वर्ष अघिको सो कार्यक्रममा उपस्थित थिए। ईश्वर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, घनश्याम भुसाल, गोकर्ण विष्ट र युवराज ज्ञवालीलाई साथमा राखेर ओलीले घोषणापत्र सार्वजनिक गरेका थिए त्यतिबेला। तर, शुक्रबारको कार्यक्रममा ओलीले आफ्ना पुराना सहकार्मीलाई साथमा राख्ने अवसर गुमाए। नेता नेपाल र खनालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी बनाएका छन् भने गौतमले एमालेबाटै राजीनामा दिएर राजनीतिबाट निष्क्रिय बनेका छन्।

ओलीले आसन्न स्थानीय तहको निर्वाचनको घोषणा गर्दा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई आफू बसेको आसनको दायाँ बायाँ राखे। एमालेको घोषणापत्रमा पनि २०७४ सालको घोषणापत्र सार्वजनिक गर्दाको अवस्था र अहिलेको अवस्थाबारे उल्लेख गरिएको छ। त्यतिबेला पनि एमाले प्रतिपक्षमा रहेको र अहिलेको स्थानीय तह निर्वाचनमा पनि एमाले प्रतिपक्षमै रहेको विषय घोषणापत्रमा उल्लेख छ।

२०७४ को स्थानीय तहमा पनि एमालेविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन बनाएको र अहिले पनि एमालेको विरुद्ध कांग्रेस, माओवादीलगायतका पाँच दलीय गठबन्धन खडा भएको घोषणापत्रको दोस्रो पृष्ठमा उल्लेख छ।

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको नीति तथा कार्यक्रममा कारण ४० प्रतिशत मत ल्याएर स्थानीय तहमा पहिलो दल बनेको एमालेको भनाइ छ।

सरकारको चर्को आलोचना

एमालेले २०७४ सालको घोषणापत्रको सुरुवात नयाँ वर्षको शुभकामना दिएर गरेको थियो। २०७९ को घोषणापत्रमा भने आफ्नो पार्टी र ओली नेतृत्वको सरकारको प्रशंसा गर्दै एमालेको घोषणापत्रको सुरुवात गरिएको छ। पाँच वर्षअघि र अहिलेको एमाले घोषणापत्रको अर्को भिन्नता हो -तत्कालीन सरकारलाई हेर्ने दृष्टिकोण। त्यतिबेलाको पूर्ववर्ती सरकार अर्थात् आफ्नो नेतृत्वको सरकारको प्रशंसा गरेर नीति तथा कार्यक्रम अघि सारेको एमालेले शुक्रबार भने गठबन्धन सरकारको चर्को आलोचना गरेर ओली नेतृत्वको ३ वर्षे सरकारको प्रशंसामा घोषणापत्रको अधिकांश ठाउँ खर्चिएको छ। 'समृद्ध, समानता र सबल राष्ट्रको आधार गाउँदेखि केन्द्रसम्मै एमालेको सरकार भन्ने नाराका साथ तपाईंहरु सामु उपस्थित भएका थियौँ,' २०७४ सालको विषयलाई उल्लेख गर्दै एमालेको घोषणापत्रको दोस्रो पृष्ठमा भनिएको छ। लगतै घोषणापत्रको दोस्रो बुदाँबाटै 'परमादेशको सरकार' भन्दै गठबन्धनको चर्को आलोचना गरेको छ एमालेले। लिपुलेक लिम्पियाधुरा नेपालको भू-भागमा आफू नेतृत्वको सरकारले ल्याएको भए पनि गठबन्धन सरकारले देशलाई अस्थिर बनाउने उदेश्यले एमाले सरकारका उपलब्धिलाई अस्वीकार गरेको आरोप लगाइएको छ।

१० वर्षे रेलको सपना खै?

पाँच वर्षअघि एमालेले रेल र पानीजहाज १० वर्ष भित्रमा सञ्चालन गर्ने घोषणा गरेको थियो। उक्त घोषणामा भनिएको थियो, 'आगामी १० वर्षभित्र सम्पन्न हुनेगरि नेकपा एमालेको सरकारले सडक, रेल, हवाई, जलमार्ग पदमार्ग, केवलकार, घोडेटो र गोरेटो निर्माण, विस्तार एवम स्तरोन्नतिको वृहत परियोजना सञ्चालन गर्ने।' आसन्न स्थानीय तहको निर्वाचनमा रेल र पानीजहाजबारे खासै विषय उल्लेख छैन। यद्यपि आवागमनलाई व्यवस्थित र आधुनिक बनाइने एमालेको घोषणा छ। 'सडक, हवाइ, जल, केबुलकार र रोपवे, दुरसञ्चार लगायतका आवागमन र सञ्चार सम्बन्धका सबै माध्यमहरुको विकास र प्रयोग गरी आवागमन, सेवा र आपूर्ति व्यवस्थालाई सहज र आधुनिक बनाउने,'एमालेले घोषणा गरेको छ।

पूर्वपश्चिम रेलमार्ग निर्माण आरम्भ भएको दाबी गरेको एमालेले जयनगर-जनकपुर-कुर्ता रेलमार्ग निर्माण भएको बताएको छ। २०७४ को घोषणामा १० वर्षमा रेल र पानी जहाज चलाउने सपना बाँडिएको भए पनि उक्त सपना कहाँ पुग्यो भन्नेबारे भने एमालेले ठोष समीक्षा गरेको छैन्। एमालेले पाँच वर्षअघि मुलुकलाई १० वर्षभित्र मध्यम आए भएको मुलुक बनाउने वाचा गरेको थियो। पाँच वर्षभित्रै अल्पविकसित राष्ट्रबाट माथि उठाउन एमाले नेतृत्वको तीनै तहमा सरकार चाहिने एमालेको २०७४ सालको घोषणापत्रमा उल्लेख छ।

तर, शुक्रबार जारी गरिएको घोषणापत्रमा पाँच वर्षअघिको घोषणा के कति पूरा भए भन्नेबारे भने केही उल्लेख गरिएको छैन। ओलीले यसअघि नै आफ्नो सरकारको प्रगति विवरण सार्वजनिक गर्दा अघि सारेको प्रगतिलाई समेटेर घोषणापत्र जारी गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell