
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबिच जिल्ला तहमा भईरहेको स्थानीय तहको सिट बाँडफाँटप्रति असन्तुष्टि जनाएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले स्थानीय तह निर्वाचनको सिट बाँडफाँटको जिल्ला तहको रिर्पोटले आफूहरुलाई उत्साही नबनाएको बताएका हुन्।
‘पाँच दलीय गठबन्धनबिच महानगरपालिका र उपमहानगरपालिकामा गरिएको पदहरुको बाँडफाँट उत्साहवर्द्धक थियो। र यसले राम्रो सन्देश पनि दिएको छ। तर विभिन्न जिल्लाको रिर्पोटहरु सुन्दाखेरी त्यति आशावादी र उत्साही हुने स्थिति छैन’ उनले भने।
देशभर आफूहरुको संजाल र संगठन विस्तार भएको भन्दै उनले नेकपा एमाले जितेको स्थानमा आफूहरुले दाबी गरेको बताए। तर, गठबन्धनबाट त्यस अनुसार काम नभएको उनको भनाइ छ।
‘माओवादी केन्द्रले जितेको ठाउँमा सोही पार्टी। कांग्रेसले जितेको ठाउँमा कांग्रेस, जनता समाजवादी जितको ठाउँमा सोही पार्टीको उम्मेदवार उठाउनु पर्छ। तर, नेकपा एमालेले जितेको ठाउँमा पहिलो हक र दावी हाम्रो लाग्नु पर्छ। कुरो त यसमा ठिकै भएको थियो। त्यस अनुसार काम भएन,’ उनले भने।
नेपालले स्थानीय तह निर्वाचनमा मनोनयनको समयमा विद्रोही उम्मेदवार उठाएर आफ्नो पार्टीलाई हराउने एमालेले षड्यन्त्र गरिरहेको आरोप समेत लगाएका छन्। केन्द्र र प्रदेश सरकारबाट हटेर राष्ट्रियसभा निर्वाचनबाट पछारिएको एमालेलाई पहिलो शक्ति हुँ भन्ने दम्भ नपाल्न समेत उनले चेतावनी दिएका छन्।