PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

रुस-युक्रेन युद्धको असर: डेढ महिनापछि सनफ्लावर तेलको कच्चा पदार्थको स्टक सकिने, सोयाविन भने पाइने



सरला सुवेदी

रुस-युक्रेन युद्धको असर: डेढ महिनापछि सनफ्लावर तेलको कच्चा पदार्थको स्टक सकिने, सोयाविन भने पाइने

काठमाडौंः रुस-युक्रेन युद्ध अझै केही साता लम्बिए नेपालीले सनफ्लावर (सूर्यमुखी) तेल खान नपाउने भएका छन्। दुई देशबीच युद्ध सुरु भएको दुई महिना पुग्दैछ। युद्ध सुरु भएपछि युक्रेनबाट सूर्यमुखीको कच्चा पदार्थ आउन बन्द भएको छ।

'विश्वबजारमा खपत हुने सनफ्लावरमध्ये ९० प्रतिशत भन्दा बढी युक्रेनमै उत्पादन हुन्छ। त्यही भएर अरु देशबाट ल्याउन सक्ने अवस्था छैन,' केएल दुगड समूहका निर्देशक विकास दुगडले भने, 'मुलुकभित्र रहेका तेल उद्योगसँग डेढ महिनालाई धान्ने मात्रै कच्चा पदार्थ छ। यो समयसम्म युद्ध नरोकिए सनफ्लावर तेल उपभोक्ताले पाउने अवस्था रहँदैन।'

उनले युक्रेनबाट समेत सनफ्लावरको कच्चा पदार्थ ल्याउन छलफल भइरहेको तर अहिलेसम्म कुनै टुंगो भने नलागेको जानकारी दिए। 'युक्रेनमा स्टकमा रहेको कच्चा पदार्थ कसरी सीपमेन्ट गर्न सकिन्छ भनेर त्यहाँको व्यवसायीसँग छलफल भइरहेको छ। खेतबाट ल्याउन सक्ने अवस्था छैन। व्यापारीसँग भएको मात्रै कुन पोर्ट प्रयोग गरेर ल्याउन सकिन्छ भन्ने हो,' उनले भने।

उनले नेपाली उपभोक्ताले सनफ्लावरको विकल्पमा सोयाविन तेलमा जानुपर्ने बताए। 'हामीले सनफ्लावरको कच्चा पदार्थ नल्याएपनि सोयाविनको ल्याइरहेका छौं। अर्जेन्टिना र ब्राजिलबाट सोयाविनको कच्चा पदार्थ आइरहेकोले उपभोक्ताले आत्तिनुपर्ने अवस्था भने छैन,' उनले भने, 'युद्ध लम्बिदै गएमा हामीले आफ्नो ह्याविट भने परिवर्तन गर्नुपर्छ।'

क्वालिटी आयलका संचालक विपिन काबराले सनफ्लावरको कच्चा पदार्थ सकिन थालेपनि उपभोक्ताले खानेतेलको अभाव भने भोग्नुनपर्ने बताउँछन्। 'रुस र युक्रेन युद्धसँगै तेलको कच्चा पदार्थको अभाव विश्वभरीनै छ। त्यही कारण महँगो पनि भएको छ। तर हामीले उपभोक्तालाई भार नपर्ने गरि मूल्य निर्धारण गरेर तेल बेचिरहेका छौ,' उनले भने, 'अहिले भएको सनफ्लावरको स्टक सकिएपछि उपभोक्ताले भटमास सहजै किन्न पाउँछन्। उपभोक्ताले खानेतेलको अभाव भने भोग्नुपर्दैन्।'

अहिले सनफ्लावर तेलको मूल्य अहिले लिटरको २ सय ९५ रुपैयाँ छ भने भटमासको तेल २ सय ८५ रुपैयाँमा बिक्री भइरहेको छ। ८ महिनामा महिनामा ४३ अर्ब ८४ करोड रुपैयाँको २७ करोड १६ लाख लिटर बराबरको कच्चा सोयाबिन तेल आयात भएको छ।

त्यस्तै, ९ करोड ३० हजार लिटर बराबरको १५ अर्ब ५२ करोड ४३ लाख रुपैयाँभन्दा बढीको कच्चा सुर्यमुखी तेल आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

भारत निकासीले स्टक धेरै

नेपाली उद्योगले भारतमा तेल निकासी गर्न आयात गरेको कच्चा पदार्थका कारण स्टक धेरै थियो। त्यही स्टकका कारण अहिलेसम्म नेपालमा तेल अभाव नभएको हो।

उद्योगी दुगडका अनुसार पहिलेनै तेल ल्याएका कारण अहिलेसम्म पनि उपभोक्ताले अभाव खेप्नुनपरेको हो। 'हामीले पहिलानै सनफ्लावरको कच्चा पदार्थ ल्याएकोले उपभोक्ताले सहज रुपमा तेल पाइरहनुभएको छ। दुई महिनासम्म पनि कतै अभाव सुनिएको छैन,' दुगडले भने, 'हामीले आयात बन्द भयो भनेर मूल्य बढाएको अवस्था पनि छैन।'

उद्योगीले भारत लक्षित गर्दै तेल निकासीका लागि पनि आवश्यक भन्दा बढी कच्चा पदार्थ ल्याएर राखेका थिए। तेस्रो मुलुकबाट आयात हुने खानेतेलको कच्चा पदार्थमा लाग्ने भन्सार भारतमा भन्दा नेपालमा सस्तो भएका कारण नेपालका उद्योगले भारत तेल निकासी गर्दै आएका थिए। भारतले भन्सार घटाएपछि नेपालबाट तेल निकासी करिबकरिब ठप्प अवस्थामा पुगेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell