PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

'नेताहरु अहिले गाँसबासको कुरा गर्छन्, चुनाव सकेपछि सुकुम्बासी टोलमा फर्केर पनि हेर्दैनन्'



निशा गुरुङ

'नेताहरु अहिले गाँसबासको कुरा गर्छन्, चुनाव सकेपछि सुकुम्बासी टोलमा फर्केर पनि हेर्दैनन्'

हेटौंडा : हेटौंडा उपमहानगरपालिका-१३ वनस्पति (सुकुम्बासी टोल) का ८५ वर्षीय राम बहादुर स्याङ्तान घरनजिकैको कुखुरेनी खोलामा बिहान ५ बजेदेखि नै बालुवा चाल्न सुरु गर्छन्। कयौं वर्षदेखि बालुवा चाल्दै आएका उनी वृद्ध उमेरमा रहरले काम गरिरहेका होइनन्, जीविका चलाउने कुनै उपाय नदेखेपछि बालुवा चाल्नु उनको बाध्यता हो।

राम्ररी उभिनसम्म नसक्दैनन् राम बहादुर। तर पनि शरीरलाई जबरजस्ती जोड दिएर बल्लतल्ल दुई महिनामा एक टिप बालुवा चाल्ने गरेको उनी सुनाउँछन्। छोरी र ज्वाईसँगै बस्दै आएका उनलाई कसैको बोझ हुन नपरोस् भन्ने लाग्छ।

अहिले राम बहादुरको गाउँलाई पनि निर्वाचन लागेको छ। स्थानीय तह निर्वाचन संघारमा पुग्दा विभिन्न दलका नेताहरु विभिन्न आश्वासन बोकेर गाउँ छिर्न थालेका छन्। रामबहादुर भने नेताहरुले काम नगरे पनि आफ्नो मताधिकार भने प्रयोग गर्नुपर्ने बताउँछन्।

‘अहिलेसम्म भोट माग्न आउने नेताहरु कोहिले केही गरेर देखाएको छैन। देखेको पनि छैन। तर, भोट त हाल्नै पर्छ,’ उनले भने।

राम बहादुर जस्तै ८० वर्षीय कृष्ण बहादुर स्याङ्तान पनि नेताहरुको कुरा सुनेर दिक्क भएका छन्। २०५० सालमा बाढीले घर लगेपछि उनी सुकुम्बासी टोलमा आएका थिए। त्यहाँ आएदेखि उनको पनि पेशा बन्यो : बालुवा चाल्ने। बिहान ४ बजेदेखि नै बालुवा चाल्न  उनी बगर पस्छन।

‘घरमा केही छैन। काम नगरी के खाने ? पसलमा उधारो दिन्न’ उनले भने।’

निर्वाचन लागेसँगै उनको गाउँमा विभिन्न दलले चुनावी कार्यक्रमहरु गरिरहेको छन्। अहिले आश्वासन दिएर जाने नेतहरु पछि निर्वाचन सकेपछि कहिलै फर्किएर नआएको उनको गुनासो छ।

‘नेताहरुले चुनावका बेलामा हामीलाई लालपुर्जा दिने, घरघडेरी दिने भनेर कार्यक्रममा भनेको थियो। अब चुनाव आयो सबै त्यसो भन्न आउँछन्। चुनाव सकेपछि हामीलाई फर्केर पनि हेर्दैनन्’ उनले भने, ‘नेताहरु चुनावको बेलामा मात्रै हजुर भनेर आउँछन्।’

उनी पनि नेताहरुले आफूहरुका लागि केही नगरे पनि मत भने हाल्न नछाड्ने बताउँछन्।

‘भोट त हाल्नै पर्‍यो। अहिलेसम्म हामिले कुनै नेताको पानी पनि खाको छैन। अब चाँही जसले हामी गरिबलाई माया गर्छ त्यसैलाई भोट हाल्नुपर्ला,’ उनले भने।

सुकुम्बासी टोलीमा राम बहादुर र कृष्ण बहादुर जस्तै १५ जना भन्दा बढी वृद्धवृद्धाहरुको दैनिकी बालुवा चाल्नु हो। बस्तीमा भने करिब ७०० जना बस्दै आएका छन्। हरेक निर्वाचनमा नेताहरु आएर गाँसबासको ग्यारेन्टरी गर्ने गरे पनि निर्वाचन पछि नेताहरु सुकुम्बासी बस्ती नै नपस्ने स्थानीयको गुनासो छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell