बुटवल : आसन्न स्थानिय तह निर्वाचनका लागि पाल्पाका स्थानीय तहमा तालमेलका लागि अन्ततः सत्तारुढ गठबन्धन दलहरुबिच सहमति जुटेको छ।
शनिबार बसेको गठबन्धन दलका नेताहरुको बैठकले जिल्लाका १० पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार भागबन्डा लगाएको हो। जस अनुसार नेपाली कांग्रेसले ६ स्थानीय तहको प्रमुख र ६ वटैको उपप्रमुखको उम्मेदवार पाएको छ।
नेकपा माओवादी केन्द्रले दुईवटा पालिका प्रमुख र तीन वटा पालिका उपप्रमुखको उम्मेदवार पाएको छ। नेकपा एकीकृत समाजवादीले दुई पालिकाको प्रमुख र एक उपप्रमुखको उम्मेदवार पाउने सहमति भएको गठबन्धनका संयोजक हिमालदत्त श्रेष्ठले जानकारी दिए।
सहमति अनुसार नेपाली कांग्रेसको भागमा तानसेन नगरपालिका र रामपुर नगरपालिका प्रमुख परेको छ। यस्तै, निस्दी गाउँपालिका, माथागढी गाउँपालिका, बगनासकाली गाउँपालिका, र रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा पनि कांग्रेसले उम्मेदवार उठाउनेछ।
नेकपा माओवादी केन्द्रले रिब्दीकोट गाउँपालिका र तिनाउ गाउँपालिका तथा नेकपा एकीकृत समाजवादीले पूर्वखोला गाउँपालिका र रम्भा गाउँपालिकाको अध्यक्षको उम्मेदवार पाउनेछ।
उपप्रमुखतर्फ नेपाली कांग्रेसको भागमा रामपुर नगरपालिका परेको छ। यस्तै, पूर्वखोला गाउँपालिका, माथागढी गाउँपालिका, रिब्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका र रम्भा गाउँपालिका उपाध्यक्ष पनि कांग्रेसले पाएको छ।
नेकपा माओवादी केन्द्रले तानसेन नगरपालिकाको उपप्रमुख पाउँदा निस्दी गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाको उपाध्यक्ष पनि पाएको छ। नेकपा एकीकृत समाजवादीले बगनासकली गाउँपालिकाको उपाध्यक्षमा आफ्नो उम्मेदवारलाई खडा गर्नेछ।
वडा अध्यक्ष पदका लागि कांग्रेसले २०७४ सालमा विजयी भएका ३७ स्थानमै फेरि प्रतिस्पर्धा गर्ने तय भएको छ। यस्तै, ४ वटावटामा भने माओवादीकै उम्मेदवार हुनेछन्। जिल्लाका ८१ वडामध्ये बाँकी ४० वडामा स्थानीय अवस्था विश्लेषण गरि उम्मेदवार चयन गर्ने बताइएको छ।