PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

स्थानीय तह निर्वाचन ऐनले गठबन्धनलाई नचिन्ने, प्रमुख आयुक्तले किन दिए विद्युतीय भोटिङको प्रयोगमा जोड ?



पहिलोपोस्ट

स्थानीय तह निर्वाचन ऐनले गठबन्धनलाई नचिन्ने, प्रमुख आयुक्तले किन दिए विद्युतीय भोटिङको प्रयोगमा जोड ?

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचन ऐनले गठबन्धनलाई नचिन्ने बताएका छन्।

हाल सत्तारुढ गठबन्धनमा केही स्थानमा एउटै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्नुपर्ने बहस चलिरहेको छ। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पनि नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने निर्णय गरिसकेको छ। तर, आयोगले भने उम्मेदवार जुन दलबाट उठ्यो उ त्यही दलको प्रतिनिधि हुने जनाएको छ।

थपलियाले भने, ‘स्थानीय तह निर्वाचन ऐनमा गठबन्धन भन्ने शब्द छैन। उम्मेदवारी दिएको व्यक्ति त्यही दलको हो भन्ने हुन्छ र स्वतन्त्रबाट दिए स्वतन्त्र हुन्छ। अर्को दलको भएमा सम्बन्धित दलले कारवाही गरेको हुनुपर्छ। दलको हकमा दलको र अरु स्वतन्त्र हुन्छन्। गठबन्धन आयोगले चिन्दैन’ उनले भने।

यस्तै, थपलियाले उम्मेदवार तय भइसकेपछि मात्रै मतपत्र छाप्ने काम हुन नसक्ने जनाएको छ। गठबन्धनमा उम्मेदवार नभएको ठाउँमा चुनाव चिह्न नराख्नेबारेमा छलफल भइरहेको प्रति इंगित गर्दै उनले त्यो सम्भव नरहेको बताएका छन्। त्यसैले उनले आउने निर्वाचनमा विद्युतीय भोटिङ मेसिनको प्रयोगमा जोड दिनुपर्ने बताए।

‘उम्मेदवार नभएका ठाँउमा गठबन्धन दलले चुनाव चिह्न नराख्ने भन्नेमा प्राविधिक दृष्टिकोणले मिल्दैन। सबै उम्मेदवार तय भएपछि मतपत्र छाप्ने काम हुन सक्दैन। सबैभन्दा राम्रो इलेक्ट्रिक भोटिङ हो। त्यसका लागि माहोल तयार गरौँ,’ उनले भने।

उनले राजनीतिक दलले उम्मेदवारी दिँदा समावेशी सिद्धान्तलाई मान्नुपर्ने बताए। राजनीतिक दलबाट उम्मेदवार दिँदा ५० प्रतिशत महिला उम्मेदवार हुनै पर्ने उनले बताए। तर, प्रमुख वा उपप्रमुखमध्ये एउटा पदमा मात्रै उम्मेदवारी दिँदा त्यसमा महिलालाई पनि प्राथमिकता दिनुपर्ने उनले बताए।

‘कुनै राजनीतिक दलले उम्मेदवारी दिँदा ५० प्रतिशत महिला हुनुपर्नेछ। तर एउटामामात्रै उम्मेदवारी दिँदा पनि महिला प्राथमिकत नदेउ भनेको होइन,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell