PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

धुम्रपानको लतले बढाएको आयात : नौ महिनामा १८ लाख किलोभन्दा बढी सुर्ती खपत



पहिलोपोस्ट

धुम्रपानको लतले बढाएको आयात : नौ महिनामा १८ लाख किलोभन्दा बढी सुर्ती खपत

काठमाडौं : भन्सार विभागका अनुसार गत चैत मसान्तसम्म नेपालीले १८ लाख ७ हजार ८७१ केजी बराबराको सुर्ती तथा सुर्तीजन्य पदार्थ खपत गरेको पाइएको छ। यसरी प्रयोग भएका सुर्ती तथा सुर्तीजन्य सामग्री मध्ये अधिकांश सामाग्री विदेशबाट आयात गरिएको पाइएको छ।

सुर्तीजन्य पर्दाथको आयात बढ्दा विदेशी मुद्रा सुर्ती खरिदका लागि विदेशिएको छ। यस्तै, सुर्ती सेवनले देशमा क्यान्सरजन्य रोगका बिरामी पनि बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपालमा वार्षिक २७ हजार जनाले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने रोगका कारण अकालमा ज्यान गुमाइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मधुमेह, दीर्घ श्वासप्रश्वासजस्ता रोग लाग्ने गरेको चिकित्सकहरूको भनाइ छ।

चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा ठूलो मात्रामा सुर्ती तथा सुर्तीजन्य पदार्थको आयात भएको पाइएको छ। विभागको विवरणानुसार आयात मूल्यका आधारमा ५५ करोड ३४ लाख ७४ हजार रुपैयाँ बराबरको सुर्ती, सुर्तीजन्य सामग्रीको आयात गरेको देखिन्छ। भन्सार विभागका अनुसार दुई हजार १६० किलो जर्दा, चपाउने सुर्ती तथा सुर्ती मिसिएका सामग्री आयात भएको छ। त्यस्तै प्याकिङ गरिएको सुर्ती ८५३ किलो, चुरोट तथा बिडी २३ हजार ३२ किलो, वाटर पाइप टोबाको रु १८४ किलो, काटिएको सुर्ती १६ लाख ६५ हजार ४९५ केजी, हुक्का फ्लेवर ९१ हजार ६६२ किलो र अन्य सुर्ती २७ हजार ५२८ किलो आयात भएको छ।

यस्तै चुरोट (फिल्टर नभएको) १० लाख (एसटिके), चुरोट फिल्टर (७५ एमएम) ८२ लाख, चुरोट फिल्टर (८५ एमएम) १६ लाख ८० हजार (एसटिके) बराबर आयात भएको छ। सरकारले सुर्ती तथा सुर्तीजन्य पदार्थबाट एक अर्ब २६ करोड ४७ लाख ४७ हजार रुपैयाँ बराबरको राजस्व संकलन भएको छ।

इलेक्ट्रिक सिगरेटमात्रै दुई लाख ९५ हजार ५५२ वटा आयात भएको छ। त्यसको लागत शुल्क एक करोड ३३ लाख २९ हजार रुपैयाँ बराबर ।

सार्वजनिकस्थलमा धुमपान तथा सुर्तीजन्य पदार्थ सेवन गरेमा १०० रुपैयाँ जरिवाना वा हाताबाट निष्काशन वा दुवै सजाय हुनसक्ने, कुनै पनि सञ्चारमाध्यमबाट सुर्तीजन्य पदार्थको विज्ञापन, कार्यक्रम समाचार सूचना सम्प्रेषण वा प्रायोजन गर्न नपाइने यदि गरेमा एक लाखसम्म जरिवाना तिर्नुपर्ने प्रावधान पनि छ। तर, उक्त व्यवस्थाको कार्यान्वयन हुन सकेको छै।

त्यस्तै १८ वर्षभन्दा कम उमेरका बालबालिका तथा गर्भवतीलाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न गराउन वा निःशुल्क उपलब्ध गराउन नपाइने, त्यस्तो गरेको पाइएमा रु १० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था छ । सुर्तीजन्य पदार्थप्रति आकर्षण हुने गरी सजावट वा प्रदर्शन गर्न नपाइनेलगायत आठवटा प्रावधान पनि कानुनमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell