- फूलमान तामाङ-
चौतारा : स्थानीय निर्वाचन नजिकिँदा सिन्धुपाल्चोक कांग्रेसमा पार्टी फेर्नेको लर्को लागेको छ। अवसर नपाएपछि पार्टी छाडेर अर्को पार्टीमा पस्नेको सिजन शुरु भए झैं नेताहरुले पार्टी परिवर्तन गर्न लागेका हुन्।
गत फागुन अन्त्यतिर एमालेबाट बलेफी गाउँपालिका अध्यक्षमा निर्वाचित केदार क्षेत्री कांग्रेस प्रवेश गरेका थिए। कांग्रेस प्रवेश गर्दा क्षेत्रीले सिन्धुपाल्चोक एमालेमा जुरे पहिरोभन्दा ठुलो पहिरो गएको दाबी गरेका थिए। सानेपा पुगेर पार्टी प्रवेश गरेका उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले सदस्यतासमेत दिएर स्वागत गरेका थिए।
शुक्रवारमात्र चौतारा साँगाचोक गढी नगरपालिकाको राजनीतिमा भूकम्प आउने चर्चा चल्यो।
सिन्धुपाल्चोकको समाचार ले पेरिसडाँडा मा ९ रेक्टरको भुकम्प जाला जस्तो छ 😂😂
— Dilip Sapkota (@DilipSapkota1) April 21, 2022
सिन्धुपाल्चोक पहिरो, बाढी र भूकम्पको लागि चर्चित जिल्ला मानिन्छ। माओवादीबाट मेयरमा निर्वाचित अमनसिंह तामाङले पुन टिकट दाबी गरेपछि माओवादीका अन्य नेता असन्तुष्टि बने।
मेयरको टिकट नपाउने चर्चा चल्नसाथ अमनसिंह पार्टी परिवर्तनको तयारी गरेका थिए। बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाउने तयारी गरेका उनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तिम समयमा शुक्रवार रोके। प्रमुखको टिकट पाउने भएपछि अमनसिंहले अहिले मेयर पदबाट राजीनामा दिइसकेका छन्।
निर्वाचन नजिकिँदै गर्दा शनिवारमात्र नेपाली कांग्रेसबाट जुगल गाउँपालिकामा प्रमुखका आकांक्षी रहेका जयबहादुर लामा एमालेमा प्रवेश गरेका छन्। उनलाई एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले एमालेमा स्वागत गरेका हुन्।
जुगलमा कांग्रेसबाट हिमाल श्रेष्ठले टिकट पाउने भएपछि उनी एमाले प्रवेश गरेको बताइएको छ। पार्टी फेरेसँगै उनी एमालेबाट प्रमुखको उम्मेदवारका रुपमा हेरिएको छ।
उनको पार्टी प्रवेशलाई जिल्ला कांग्रेसमा पहिरो गएको भनेर चर्चा शुरु भएको छ। लामा हालै कांग्रेस सभापतिमा निर्वाचित जंगबहादुर लामाकै गाउँपालिकाका नेता हुन्।
उनीसँगै वडा नम्बर पाँचका अध्यक्ष सनत अधिकारी पनि एमाले प्रवेश गरेका छन्। काँग्रेसबाट वडा न ३ मा अध्यक्ष जितेका सानुकान्छा तामाङ पनि एमाले प्रवेश गरेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले बताए।