
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वार्टफोर्टलाई हराएको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा सिटीले वार्टफोर्डमाथि ५-१ गोलअन्तरको फराकिलो जित निकालेको हो।
खेलको चौथो मिनेटमै सिटीलाई अग्रता दिलाएका जिससले २३ औं मिनेटमा केभिन डी ब्रुइनको पासमा दोस्रो गोल गरे। अर्कोतर्फ वार्टफोर्डका लागि हस्सेन कमराले २८ औं मिनेटमा गोल फर्काए। त्यस्तै सिटीकै रोड्रिले ३४ औं मिनेटमा जिससको पासमा गोल गर्दा पहिलो हाफमा सिटी ३-१ गोलअन्तरले अघि रह्यो।
दोस्रो हाफमा सिटीले दुई गोल थप्यो। खेलको ४९ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै ह्याट्रिक गरेका जिससले ५३ औं मिनेटमा डी ब्रुइनको पासमा ब्यक्तिगत चौथो गोल गरे।
जितसँगै ३३ खेलबाट ८० अंक जोडेको म्यानचेस्टर सिटी तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको लिभरपुलले ७६ अंक जोडेको छ। २२ अंक जोडेको वार्टफोर्डलाई भने आजको हाररे रेलिगेशन ब्याटलमा थप दवाब बढाएको छ।
आजै सम्पन्न अन्य खेलहरुमा न्युक्यासलले नर्विच सिटीमाथि ३-० को जित निकाल्दा लेस्टरसिटी र एस्टोन भिल्ला गोलरहित बराबरीमा रोकिए। त्यस्तै आर्सनलले म्यानचेस्टर युनाइटेडमाथि ३-१ गोलअन्तरको जित निकाल्यो।