PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

काठमाडौं महानगरको उपप्रमुखमा सुनिता डंगोल भर्सेस रामेश्वर श्रेष्ठ



पहिलोपोस्ट

काठमाडौं महानगरको उपप्रमुखमा सुनिता डंगोल भर्सेस रामेश्वर श्रेष्ठ

काठमाडौं : नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

बालकोटमा शनिबार बसेको सचिवालय बैठकले केशव स्थापितलाई महानगर प्रमुख र सुनितालाई उपप्रमुख पदको उम्मेदवार बनाउने निर्णय गरेको हो।

पूर्व मिस नेवा: समेत रहेकी सुनिताले यसअघि काठमाडौं महानगरको प्रमुखमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन्। उनले ८ खम्बे विकास मोडेल सार्वजनिक गर्दै उम्मेदवारी दिनेबारे आन्तरिक रुपमा तयारी पनि गरेकी थिइन्।

सञ्चार क्षेत्रमा समेत आवद्ध रहेकी उनी यसअघि काठमाडौं महानगरपालिका अन्तर्गत शहरी विकास आयोगमा कार्यरत थिइन्।

प्रमुखमा उम्मेदवारी घोषणा गरेपछि नै बालेन शाहको उम्मेदवारीसँग जोडेर उनको आलोचना भएको थियो। उनले सुरुमा नै एमाले अध्यक्ष केपी शर्मा ओलीको समृद्ध नेपाल खुशी नेपाली अभियान राम्रो लागेको बताएपछि उनी एमालेमा जान सक्ने आकलन भएको थियो।

गठबन्धनबाट रामेश्वर श्रेष्ठ

सत्तारुढ गठबन्धनले काठमाडौं महानगरको प्रमुख नेपाली कांग्रेसलाई दिने निर्णय गरिसकेको छ। यस्तै, उपप्रमुख भने नेकपा एकीकृत समाजवादीले पाएको छ। कांग्रेसमा श्रृजना सिंहलाई महानगर प्रमुखमा उम्मेदवार बनाउने सहमति भइसकेको छ। नेकपा एकीकृत समाजवादीबाट भने महानगर उपप्रमुखमा रामेश्वर श्रेष्ठको नाम सिफारिस गरेको छ।

समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले श्रेष्ठलाई महानगर उपप्रमुखको उम्मेदवार बनाइएको जानकारी दिए ।

महानगर कमिटी अध्यक्षसमेत रहेका श्रेष्ठ झलनाथ खनाल निकटका नेता हुन्। काठमाडौंको भित्री शहरमा उनले राम्रो जनसम्पर्क स्थापना गरेका छन्। 

रामेश्वर श्रेष्ठसँगै बहालवाला १५ वडा अध्यक्ष ईश्वरमान डंगोलसमेत उपमेयरको टिकट पाउने दौडमा थिए। महानगरका प्रवक्ता समेत रहेका डंगोल भने जीवनराम श्रेष्ठ निकट हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell