
काठमाडौं: ठीक २५ वर्षपछि काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा (एमाले) ले केशव स्थापितलाई उम्मेदवार बनाएको छ। एमाले विभाजन हुँदा नेकपा मालेतिर लागेपछि एमालेबाटै महानगरको उपप्रमुख जितेका विदुर मैनालीले केशव स्थापितलाई सबैभन्दा असहयोग गरेका थिए। २५ वर्षपछि पुन: एमालेबाट काठमाडौंको नेतृत्त्व लिने उद्देश्यका साथ लागिपरेका स्थापित चर्चा बटुल्न जस्तोसुकै कदम पनि चाल्न पोख्त मानिन्छन्। के २०५४ सालमा जस्तै स्थापितको जादु काठमाडौंमा चल्ला?
काठमाडौं नगरपालिका महानगरपालिकामा रुपान्तरित भएपछि दोस्रा मेयर थिए स्थापित। महानगर भएपछि पहिलो मेयर बनेका पीएल सिंहको कार्यकाल नीति निर्माण र वित्तीय व्यवस्थापनमै सीमित भएको थियो। त्यसपछि चुनिएका थिए स्थापित जसले काठमाडौंमा फरक छाप छाडे। काठमाडौंको माइतीघरमा रहेका घर टहरा उठाएर अहिलेको मण्डल उनकै कार्यकालको योगदान थियो। उनकै कार्यकालमा बानेश्वरबाट शंखमूलको बाटो फराकिलो बन्यो। सडक विस्तारमा मेयर स्थापितले कसैको सुनेनन् भलै पार्टी विभाजन भएपछि उनी वामदेव गौतम नेतृत्वको नेकपा मालेतिर सामेल भएका थिए।
त्यतिखेर स्थानीय निकायमा एमालेबाट निर्वाचित प्रमुख धेरैजसो वामदेवको नेतृत्वमा मालेतिर आकर्षित भएका थिए भने उपप्रमुख एमालेमै रहेका थिए। स्थापित फरक दलमा आवद्ध भएसँगै महानगरपालिकाको एमालेहरुले उनका हरेक योजनामा अड्को थापिरहे। त्यही विषयलाई लिएर स्थापित सार्वजनिक समारोहमै रोएका दृश्य सायद काठमाडौंका जनताले भुलिसकेका छन्।
मालेतिर लागेपछि जसरी एमालेका कार्यकर्ता स्थापितको विरुद्धमा सक्रिय भए त्यसरी नै प्रतिकारमा उत्रिए उनी। मदन मण्डारीको मृत्युपछि विद्यादेवी भण्डारीलाई चुनाव जिताउन सेतो सारीमा रातो मसीले छ्यापेर'कांग्रेसीले विधवामाथि दुर्व्यवहार' गरेको प्रोपागान्डाको समेत जिम्मेवारी लिँदै उनले अन्तर्वार्ता दिएका थिए।
काठमाडौंको रैथाने व्यवासायिक घरानाका स्थापित राजनीतिमा स्थिर भने कहिल्यै भएनन्। उनी मेयर भएपछि काठमाडौंमा धेरैखाले योजना उनले अघि सारेका थिए। कार्यान्वयनमा नआएका उनका योजनामा थियो –टुँडिखेलको मुनि अन्डरग्राउन्ड बस पार्क। कमल पोखरीमाथि बहुतले बहुउद्देश्यीय भवन जसको अन्तिम तल्लामा कलम पोखरी। अनि जताततै पार्क, त्यो पनि 'डेटिङ'का लागि। रत्नपार्कमा रहेका टिनका जुत्ता पसल र मःम पसललाई विस्थापित गरेर पार्कमा परिणत उनकै पालामा भयो।
काठमाडौंको मुहार फेर्ने उनका कदम अझै पनि धेरैको स्मरणबाट बाहिर छैनन्।
तर, उनी सामेल भएको पार्टीको राजनीति अस्तित्व कमजोर हुँदै गएपछि केशव स्थापित बहुरुपी देखिए।
केशव स्थापित कहिले शिव तान्डव गरिरहेका दृश्य सार्वजनिक भए त कहीले प्रजा परिषदको नेतृत्व सम्हालिरहेका दृश्य देखिए। स्वैर्यकल्पनाका उडानमा उनलाई नेपालमा जित्ने कोही थिएनन्। राजा ज्ञानेन्द्रले शासन हातमा लिएपछि उनी दरबारीया पनि बन्न पुगे।
स्थापित राजावादी मात्र भएनन् कुनै बेला माओवादी भए। उपहारस्वरुप काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुख आयुक्त पनि बनाइए उनी। जसरी उनलाई २०६९ सालमा नियुक्ति दिइयो, त्यसरी नै हटाइयो पनि। त्यहाँ पनि उनका कल्पनाका उडानले उनलाई साथ दिएन। नौ महिनापछि पदमुक्त भएपछि उनी हिसिला यमीविरुद्ध कडा रुपमा उत्रिएका थिए।
कतै पद नपाउँदा खेलकुद क्षेत्रमा जोडिएर केही गर्ने हुटहुटी सार्वजनिक गर्दै हिँड्थे उनी।
स्थापित राजावादी मात्र हैन जातिवादी पनि भए। परिणाम मूलधारको राजनीतिक दल त्यागेर उनी अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा लागे। ०७० को संविधानसभा निर्वाचनमा काठमाडौँ ६ बाट उम्मेदवार बने। आफूले चुनाव नजिते पनि स्थापितले एक हजार भोट कटाएर एमाले नेता योगेश भट्टराईलाई हराउन भने भूमिका खेले।
०७४ को स्थानीय तह चुनावभन्दा अगाडि नै स्थापितलाई फेरि एमाले अध्यक्ष ओलीले टिका लगाएर एमाले भित्र्याए। संघीय संरचनामा पहिलोपटक भएको स्थानीय तह निर्वाचनमा पनि स्थापितले काठमाडौँको मेयरमा दाबी गरे। तर विद्यासुन्दर शाक्यलाई एमालेले उम्मेदवार बनायो। पछि उनी प्रदेश सभा सदस्यमा निर्वाचित भए। मन्त्री पनि भए। तर, मुख्यमन्त्रीसँग उनको सम्बन्ध कहिल्यै जमेन। प्रदेश क्याबिनेटमा स्थापित र एमालेकै मुख्यमन्त्री डोरमणि पौडेलका विवाद छरपस्ट भइरहे। विवादमा कारण स्थापित हटाउन मौका कुरेर बसेका डोरमणिले 'मिटू' अभियानको दबाबमा पदबाट हटाए। मन्त्रिपरिषदबाट स्थापित 'आउट' भए।
काठमाडौं महानगरपालिकामा केही हदसम्म सफल र धेरै चाहिँ कल्पनाको उडान भर्न खप्पिस केशव स्थापितले यसपाला के गठबन्धनविरुद्ध जित निकाल्न सक्लान्? अनिशिवभक्त स्थापित काठमाडौंको मेयरमा पुनर्स्थापित हुन सक्लान्? त्यसका लागि महनगरपालिकाको निर्वाचन नतिजा कुर्नुपर्ला।