PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सत्ता गठबन्धनमा सकसः भागबन्डाले कांग्रेसभित्र किचलो, उम्मेदवार छान्‍नै मुस्किल



नेत्र तामाङ

सत्ता गठबन्धनमा सकसः भागबन्डाले कांग्रेसभित्र किचलो, उम्मेदवार छान्‍नै मुस्किल

काठमाडौं: सत्ता गठबन्धनलाई स्थानीय तहमा तालमेल गर्न हम्मेहम्मे परिरहेको छ। महानगर र उपमहानगरको प्रमुख र उपप्रमुख तालमेलको सहमति जुटिसके पनि बाँकी स्थानीय तहमा भने गठबन्धन पाँच दलले अझै कुरा मिलाउन सकेका छैनन्।

मनोनयन आइतबारबाट हुँदैछ। केन्द्रीय सत्ताको नेतृत्व गरिरहेको कांग्रेसले स्थानीय नेता कार्यकर्ताको चित्त बुझाउन समेत सकेको छैन।

माओवादी, एकीकृत समाजवादीकै कारण कांग्रेसले सत्ताको नेतृत्व गर्न पाएको तर्क पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गरिरहे पनि यसपटक स्थानीय तहका कांग्रेस नेता कार्यकर्ता तालमेल गर्न मानिरहेका छैनन्। जसले गर्दा स्थानीय नेता कार्यकर्तालाई मनाउन गाह्रो परिरहेको छ।

सिन्धुपाल्चोकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र सभामुख अग्निप्रसाद सापकोटाको टकराव कायमै रहेकोले यहाँ कांग्रेसले बरु एमालेसँग तालमेल गर्ने तर माओवादीसँग नमिल्ने निर्णय अघि सार्दै आएको छ। यद्यपि बस्नेतको निर्णयलाई केन्द्रले हस्तक्षेप गर्ने तयारी गरेको बताइएको छ।

सिन्धुलीमा कांग्रेस र माओवादीको निर्णय सच्याउन माग गर्दै एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चा विरोधमा उत्रिएको छ। शुक्रबार दुई दलले गरेको सिट बाँडफाँटको विषयलाई लिएर उनीहरुले नसच्चिए गठबन्धन तोड्ने चेतावनीसमेत दिएका छन्। ‘गठबन्धनभित्र छलफल नै नगरी निर्णय नै नभएको विषयलाई नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको बाँडफाँटसमेत गरेको निर्णय सारमा गठबन्धन विरोधी कदम भएको हाम्रो ठहर छ,’ तीन दलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यदि सो निर्णय खारेज गरी सहमतिको प्रयास नभएमा गठबन्धन तोड्न हामी बाध्य हुने यो वक्तव्यमार्फत सम्बन्धित सबैमा जानकारी गराउँदछौं।’

यसरी विभिन्न जिल्लामा तालमेलबारे विवाद देखिएपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल असन्तुष्ट सुनिएका छन्। शनिबारमात्र नेपालले यस्तो असन्तुष्टि पोखेका हुन्।

‘पाँच दलीय गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकामा गरिएको पदहरुको बाँडफाँट उत्साहवर्द्धक थियो। र यसले राम्रो सन्देश पनि दिएको छ। तर विभिन्न जिल्लाको रिपोर्ट सुन्दाखेरी त्यति आशावादी/उत्साही हुने स्थिति छैन,’ उनको भनाई थियो।

गठबन्धनमा तालमेलबारे जिल्ला जिल्लामा नेता कार्यकर्ता भड्किएको खबर आएपछि शनिबार बालुवाटारमा सत्ता गठबन्धनबीच छलफल भयो। छलफलमा अधिकांश स्थानमा तालमेल नै गरेर जाने सहमति भएको एक नेताले बताए। यद्यपि तालमेल नहुने देखिएमा मित्रवत प्रतिस्पर्धा गर्न सकिने समेत उनको भनाई थियो। यसको अन्तिम टुंगोका लागि आइतबार बिहान ११ बजे बालुवाटारमा बैठक बोलाइएको छ। भोलिबाट मनोनयनसमेत सुरु हुँदैछ।

कांग्रेसलाई झनै सकस

नेपाली कांग्रेस सत्तारुढ दलको नेतृत्व गरिरहेको दल हो। यसपटक एमाले फुटिरहेको अवस्थामा कांग्रेसले राम्रो मत पाउने धेरै नेता कार्यकर्ताको मत छ। यसैले कांग्रेस एक्लै चुनावमा जानुपर्ने उनीहरुको मत पनि थियो।

तर सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको दबावका कारण देशभर गठबन्धन गर्न कांग्रेसलाई बाध्यता पर्ने कांग्रेस नेताहरु नै बताउँछन्। कांग्रेसमा आकांक्षी बढ्दा र तालमेलले गर्दा उम्मेद्वार छान्न मुस्किल परिरहेको छ।

उम्मेद्वार टुंगो लगाउन शुक्रबार डाकिएको बैठक अझैसम्म कांग्रेसले राख्न सकेको छैन। शुक्रबार दुई पटक सारेको बैठक शनिबारसमेत दुई पटक सरेर स्थगित भयो।

बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा सहमति जुट्न नसकेपछि कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित भएको थियो। बोलाएको समयमा बैठक सुरु नभएको भन्दै कार्यसम्पादन समितिका सदस्य अर्जुननरसिंह केसी असन्तुष्टि पोख्दै सानेपाबाट बाहिरिएका थिए।

भोलि गठबन्धनको बैठकपछि मात्र कांग्रेसले आफ्नो उम्मेद्वार टुंगो लगाउने तयारी गरेको बताइएको छ। काठमाडौंमा नेता प्रकाशमान सिंह पत्नी सिर्जना सिंहलाई मेयरको उम्मेद्वार बनाउने पक्कापक्की भए पनि ललितपुर र विराटनगरमा कांग्रेसले अझै सहमति जुटाउन सकेको छैन। यता उपमहानगरको उम्मेद्वारमा पनि कांग्रेसमा सहमति जुट्न सकेको छैन। उम्मेद्वार टुंगो लगाउन कांग्रेसले मनोनयनको अन्तिम दिन सोमवार अबेरसम्म समय लगाउने देखिएको एक नेताले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell