PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

कांग्रेसलाई उम्मेद्वार छान्न सकस : वागीको डरले भोलि अन्तिम समयमामात्रै उम्मेद्वारी दिने तयारी



पहिलोपोस्ट

कांग्रेसलाई उम्मेद्वार छान्न सकस : वागीको डरले भोलि अन्तिम समयमामात्रै उम्मेद्वारी दिने तयारी

काठमाडौं : उम्मेद्वार मनोनयनको दिनसम्म पनि कांग्रेसले अधिकांश स्थानको उम्मेद्वार टुंगो लगाउन सकेको छैन। महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखको उम्मेद्वार टुंगो लगाउने जिम्मा कांग्रेस केन्द्रले लिएको थियो। अधिकांश जिल्लाका स्थानीय तहमा प्रमुख र उपप्रमुख स्थानीय तहमा टुंगो नलाग्दा यसको जिम्मा पनि केन्द्रकै थाप्लोमा आउने देखिन्छ।

यद्यपि आफ्नो जिम्मामा आएको जिम्मेवारीसमेत कांग्रेस केन्द्रले पुरा गर्न सकेको छैन। सत्ता गठबन्धन तालमेल गरेर जाने निर्णयसँग कांग्रेस नेता कार्यकर्ता रुष्ट बनेका छन्। कतिपय स्थानमा उम्मेद्वारको आकांक्षीको लर्को लागेको छ। जसले गर्दा कांग्रेस शीर्ष नेताले अझै उम्मेद्वार टुंगो लगाउन नसकेको हो।

कांग्रेसले स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरको उम्मेद्वारको टुंगोसमेत लगाउन सकेको छैन। उम्मेद्वार टुंगो लगाउन शुक्रवार र शनिवार डाकिएको केन्द्रीय सम्पादन समितिको बैठक स्थगित भएको छ। सहमति जुटेमा आज ११ बजे बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट महानगर र उपमहानगरको फाइनल नाम आउनेछ।

वागीकै डर

मनोनयनको पहिलो दिन नै उम्मेद्वारको टुंगो लाग्दा वागीले उम्मेद्वारी दिने डर कांग्रेसमा देखिएको छ। अघिल्ला निर्वाचनहरुमा कांग्रेसमा धेरै स्थानमा वागी उम्मेद्वारले मनोनयन हालेका थिए। यसपटक तालमेल हुने भएपछि कांग्रेसका स्थानीय नेता कार्यकर्ता झनै रुष्ट बनेका छन्। 'यसखाले असन्तुष्टि रोक्न पनि उम्मेद्वारी अन्तिम समयमा मात्र दिइने गरिन्छ,' कांग्रेसका एक नेताले भने।

कार्यसम्पादन लगत्तै कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ। त्यसपछि दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दैछ। तालमेलको अन्तिम टुंगो यही बैठकबाट लाग्ने र भोलि अन्तिम समयमा मात्र गठबन्धनका उम्मेद्वारले मनोनयन दर्ता गर्ने तयारी भएको एक नेताले दाबी गरे। सत्ता गठबन्धनमा रहेका अन्य दलका उम्मेद्वारले पनि भोलिमात्रै उम्मेद्वारी मनोनयन गर्ने तयारी गरेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell