
काठमाडौं : आज र भोलि ७७ वटै जिल्लामा स्थानियत तह निर्वाचनको लागि उम्मेदवारी दर्ता हुँदैछ। पार्टीहरुले स्थानीय तहको विभिन्न पदमा उम्मेदवारी घोषणा समेत गरेका छन्। केही दल र ठाउँमा भने अझै उम्मेदवार छनोट गर्न सकिएको छैन।
नेपाल सुशासन पार्टीले पनि काठमाडौं महानगर प्रमुखको लागि उम्मेदवार टुंगो लगाउन सकेको छैन। उक्त पार्टीबाट पूर्व डीआईजी रमेश खरेल स्थानीय तहको निर्वाचनमा उम्मेदवार दिने भएपछि चर्चामा छन्। खरेल अहिले नेपाल सुशासन पार्टीका अध्यक्ष पनि हुन्।
'अहिलेसम्म टुङ्गिएको छैन। काठमाडौंको मेयर उठ्न र सांसदमा उठ्ने विषयमा बराबर प्रतिकृया आइरहेको छ। आज केही टुंगो लाग्ला,' अध्यक्ष खरेलले भने।
सरकारले डीआईजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्त गरेपछि २०७४ चैत २८ गते खरेलले राजीनामा दिएका थिए। खरेल २०४५ सालमा भलिबल खेलाडीका रुपमा नेपाल प्रहरीमा भर्ना भएका थिए। उनले पूर्व आईजी सर्वेन्द्र खनाल र पूर्व एआईजी पुष्कर कार्कीसँगै २०४६ साल माघ २९ गते प्रहरी निरीक्षकको परीक्षा उतीर्ण गरेका थिए। राजनीतिक रुपमा सरकारले महानिरीक्षक छानेको भन्दै उनले राजीनामा गरेका थिए।
राजीनामा दिएको केही समय उनी कतै सक्रिय रहेनन्। भ्रष्टाचार संस्थागत रुपमा मौलाएको भन्दै २०७६ फागुन २९ गते पूर्व डीआईजी खरेलको संयोजकत्वमा 'हाम्रो नेपाल सुशासन अभियान' सुरु भएको थियो। निर्वाचन आयोगमा पार्टी नै दर्ता गरेपछि खरेल तराईका जिल्लामा दौडधुपमा लागेका थिए।