काठमाडौं : आज स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता हुँदैछ। सत्तारुढ गठबन्धनले महानगर र उपमहानगरमा भागबन्डा गरे पनि अन्य पालिकाहरुमा तालमेलका लागि सहमति जुट्न सकेको छैन। नेकपा एमालेले पनि सबै पालिकाहरुमा उम्मेदवारको टुंगो लगाउन सकेको छैन।
भक्तपुर नगरपालिकाको प्रमुखमा कसलाई उठाउने भन्ने विषयमा राजनीतिक दलहरुबिच अहिले कुनै सहमति जुट्न सकेको छ। नेकपा एमालेले भने वडाका उम्मेदवारहरु भने चयन गरिसकेको छ।
एमालेबाट विष्णुप्रसाद सुवाल, रवीन्द्र लाछिमस्यु, रोशन बज्राचार्य लगायतको नाम भक्तपुर नगर प्रमुखका लागि चर्चामा छन्। कांग्रेसबाट भने राम कसुला, नारायणप्रसाद तमखुको नाम चर्चामा छ। भक्तपुरमा नेकपा एकीकृत समाजवादीले पनि दाबी गरिरहेको छ। गठबन्धन र एमालेमा अहिले नगरको विषयमा कुनै निर्णय भएको छैन।
२०७४ सालको निर्वाचनमा भक्तपुर नगरपालिका ‘क्लिन स्विप’ गरेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले पनि अहिले सम्म उम्मेदवारहरुको टुंगो लगाइसकेको छैन। उम्मेदवारको टुंगो लगाउन आज नेमकिपाको बैठक बस्दैछ। आजको बैठकले उम्मेदवारहरुको नाम टुंगो लगाउने नेमकिपाका एक नेताले बताए।
अन्य दलमा जस्तै नेमकिपामा नगर प्रमुखका आकांक्षीहरुको चर्चा बाहिर ल्याउने चलन छैन। प्रायजसो अन्तिम समयमा मात्रै नेमकिपाले उम्मेदवारको नाम सार्वजनिक गर्ने गर्छ। यस पटकको निर्वाचनमा पनि उम्मेदवारको नाम मनोनयनको दिन (बैशाख १२ गते) मात्रै सार्वजनिक गर्ने तयारी नेमकिपाको छ।
नेमकिपाबाट यसपटक पनि बहालवाला नगर प्रमुख सुनिल प्रजापतिको नाम चर्चामा छ। तर, नेमकिपाले नगर प्रमुख र उपप्रमुखमा नयाँ अनुहारलाई मौका दिन सक्ने बताइएको छ।