PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बुटवल उपमहानगरको मेयरमा एमाले र गठबन्धनबाट उम्मेदवार बनेका भट्टराई र पाण्डे को हुन् ?



रमेश पराजुली

बुटवल उपमहानगरको मेयरमा एमाले र गठबन्धनबाट उम्मेदवार बनेका भट्टराई र पाण्डे को हुन् ?

बुटवल : आसन्न स्थानीय तह निवार्चनका लागि रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रमुख (मेयर) पदका लागि नेकपा एमाले र सत्तारूढ पाँच दलीय गठबन्धनले उम्मेदवार छानिसकेका छन्।

नेकपा एमालेले बुटवल उपमहानगरको मेयरमा बाबुराम भट्टराईलाई अघि सारेको छ। शनिबार साँझ बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले भट्टराईलाई मेयरमा उठाउने निर्णय गरेको हो। सत्तारूढ गठबन्धनले भने उपमहानगरको मेयरमा यस अघिनै नेपाली कांग्रेसका नगर कार्यसमितिका सभापतिसमेत रहेका खेलराज पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको थियो।

अघिल्लो निर्वाचनमा पनि मेयरको दौडमा रहेका भट्टराई स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४ विर्घामा जन्मिएर बुटवलमा बसोबास गर्दै आएका छन्। भट्टराई २०३६ सालदेखि कम्युनिष्ट पार्टीमा आवद्ध भएका थिए। उनी भूमिगत कालदेखि नै कम्युनिस्ट नेता तथा कार्यकर्ताहरूको उपचार गर्दै कम्युनिस्ट पार्टीमा संलग्न भएका हुन्। लामो समय उद्योग, व्यवसाय क्षेत्रमा रहेर काम गरको भट्टराई पार्टीको जिल्ला कमिटी सदस्य हुँदै हाल प्रदेश कमिटी सदस्य रहेका छन्।

नेपाल औषधि व्यवसायी संघका पूर्वराष्ट्रिय अध्यक्ष भट्टराईले पार्टीको केन्द्रीय स्वास्थ्य विभागमा रहेर पनि काम गरेका थिए। उनी ३५ वर्षको उमेरमै औषधि व्यवसायी संघको लुम्बिनी प्रदेश अध्यक्ष बनेका थिए। २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका भट्टराई २०६२-६३ सालको आन्दोलनमा आकस्मिक राहत कोषका संयोजक भएका थिए।

तत्कालीन लुम्बिनी अञ्चल अस्पताल (हालको लुम्बिनी प्रादेशिक अस्पताल) को समेत अध्यक्ष बनेर नेतृत्व सम्हालेका भट्टराईले बुद्धिजीवी परिषदमा रहेर पनि काम गरेका थिए।

त्यस्तै अघिल्लो निर्वाचनमा पनि नेपाली कांग्रेसबाट बुटवल उपमहानगरको मेयरको उम्मेदवार बनेका पाण्डे स्याङ्जाको कालीगण्डकी गाउँपालिका–२ कोटाकोटमा जन्मिएका थिए। अहिले उनी स्थायी रूपमा बुटवलमा बसोवास गर्दै आएका छन्।

२०३९ सालमा आदर्श मावि कोटाकोटमा नेविसंघको सदस्यता लिएर राजनीतिक यात्रा सुरू गरेका पाण्डे वि.सं २०४४ सालमा अमृत साइन्स क्याम्पस, काठमाडौंमा नेविसंघको सहसचिव भएका थिए। २०४६ सालमा रूपन्देही आएपछि उनको विद्यार्थी राजनीति यात्रा फराकिलो बन्दै गएको थियो।

२०४७ सालमा बुटवल बहुमुखी क्याम्पस नेविसंघ उपसभापति, २०५२ सालमा नेविसंघ रूपन्देही सचिव, २०५९ सालमा तरूण दल रूपन्देही जिल्ला अध्यक्ष र २०६० सालमा तरूण दल केन्द्रीय सदस्य हुँदै २०६७ सालदेखि हालसम्म नेपाली कांग्रेस बुटवल उपमहानगर सभापति रहेका छन्।

२०७४ को स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरको मेयरमा एमालेबाट शिवराज सुवेदी विजयी भएका थिए। कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धन गरेर चुनाव लड्दा पनि एमालेले एक्लै बाजी मारेको थियो। त्यतिबेला पनि नेपाली कांग्रेसबाट पाण्डे नै उम्मेदवार थिए। सुवेदीले पाण्डेलाई दुई हजार तीन सय ९८ मतान्तरले पराजित गरेका थिए।

बुटवलमा २०७४ सालको निर्वाचनयता २४ हजारभन्दा बढी मतदाता थपिएका छन्। ती थपिएका मत आगामी निर्वाचनका लागि निर्णायक बन्ने देखिएको छ। यसपटकको निर्वाचनमा बुटवलमा ९० हजार ६५ मतदाता रहेका छन्। बुटवल उपमहानगरपालिकामा २०५४ सालदेखि नेकपा एमालेले निरन्तर नेतृत्व गरिरहेको छ।

बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा बुटवलमा नेपाली कांग्रेसको साथमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी   र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ भने एमालेले राष्ट्रिय जनमुक्ति पार्टीसँग मिलेर निर्वाचनमा जाने भएको छ।

उपमेयरतर्फ अर्याल र गुरुङ भिड्ने

नेकपा एमालेले बुटवल उपमहानगरको उपमेयरमा पार्टी केन्द्रीय सदस्य सावित्रा अर्याललाई उठाउने निर्णय गरेको छ। २०३६ सालको आन्दोलनबाट सक्रिय राजनीतिमा प्रवेश गरेकी अर्यालले २०४७ सालमा तत्कालीन नेकपा मालेको सदस्यता प्राप्त गरी निरन्तर पार्टीमा सक्रिय रहँदै आएकी छन्।

बाल्यकालमा विद्यालय जान नपाएका आमाहरूका लागि महिला विद्यालय स्थापना गरी शिक्षा क्षेत्रमा अभियान चलाएकी अर्याल बुटवल महिला जेसिजबाट ‘लेडी अफ द इयर २००८’ बाट सम्मानित भएकी थिइन्। उनकै अध्यक्षतामा स्थापना भएको साधना महिला विद्यालयमा अहिले पनि १५ वर्षदेखि ७० वर्ष उमेरसम्मका एक सयभन्दा बढी महिलाहरू अध्ययनरत रहेका छन्।

त्यस्तै गठबन्धनको भागबण्डाबाट बुटवलको उपमेयर पाएको नेकपा एकीकृत समाजवादीले चीनबहादुर गुरुङलाई उपमेयरको उम्मेदवार बनाएको छ। गुरुङ पार्टीका बुटवल नगर अध्यक्ष हुन्। अघिल्लो निर्वाचनमा उनी बुटवल–३ बाट वडा सदस्यमा निर्वाचित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell