
बुटवल : आसन्न स्थानीय तह निर्वाचनका लागि पाल्पामा नेकपा एमालेले उम्मेदवारको टुंगो लगाएको छ। १० स्थानीय तह रहेको पाल्पामा एमालेले जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेलाई तानसेन नगरपालिका प्रमुखको उम्मेदवार बनाएको छ। उपप्रमुखमा यसअघिकी कार्यपालिका सदस्य शशी श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको छ।
रामपुर नगरपालिकामा अधिवक्ता शिव अर्याललाई प्रमुखको उम्मेदवार बनाएको छ। उपप्रमुखमा दुर्गा रानालाई उम्मेदवार बनाउने निर्णय भएको छ। निस्दी गाउँपालिकामा मुक्तबहादुर सारु पुनः अध्यक्षमा दोहोरिएका छन्। भने उपाध्यक्षमा तीरण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको छ।
त्यसैगरि पूर्वखोला गाउँपालिकामा पुनः नुनबहादुर थापा र भागिरथी भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको छ। रम्भा गाउँपालिकामा पनि यसअघि अध्यक्ष र उपाध्यक्ष भएका विष्णुप्रसाद भण्डारी र राधादेवी श्रेष्ठलाई बनाउने निर्णय भएको छ। बगनासकाली गाउँपालिकामा अध्यक्षमा सरस्वती दर्लामी चिदी र उपाध्यक्षमा हरि पाठकलाई बनाउने निर्णय भएको छ। चिदी यसअघिकी उपाध्यक्ष हुन्।
त्यसैगरि पाल्पाको तिनाउ गाउँपालिकामा एमालेबाट प्रेम श्रेष्ठलाई अध्यक्ष र सावित्रा रानालाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको छ। माथागढीमा यम चिदीलाई अध्यक्ष र विष्णु लुङ्चेलाई र उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको छ।
रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा नारायणबहादुर जीसी र उपाध्यक्षमा लक्ष्मी खनाललाई उम्मेदवार बनाउने निर्णय भएको छ। जीसी र खनाल २०७४ को निवार्चनमा निर्वाचित जनप्रतिनिधि हुन्। रैनादेवी छहरा गाउँपालिकामा रामबहादुर राउतलाई अध्यक्ष र गीता भट्टराई घिमिरेलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको छ।
सत्तारुढ गठबन्धनले उम्मेदवार टुंग्याउन बाँकी
सत्तारुढ गठबन्धन दलहरुबिच भागबन्डामा सहमति भए पनि हालसम्म उम्मेदवार टुंगो लगाउन सकिएको छैन। शनिबार बसेको गठबन्धन दलका नेताहरुको बैठकले नेपाली कांग्रेसले ६ स्थानीय तहको प्रमुख र ६ वटैको उपप्रमुख पाउने सहमति भएको थियो।
नेकपा माओवादी केन्द्रले दुईवटाको प्रमुख र तीन वटाको पाउने सहमति भएको थियो। नेकपा एकीकृत समाजवादीले भने दुई पालिकाको प्रमुख र एक उपप्रमुखको उम्मेदवार पाउने सहमति भएको थियो।
सहमति अनुसार नेपाली कांग्रेसले तानसेन नगरपालिका र रामपुर नगरपालिकाको प्रमुख पाउनेछ। निस्दी गाउँपालिका, माथागढी गाउँपालिका, बगनासकाली गाउँपालिका, र रैनादेवी छहरा गाउँपालिकामा पनि कांग्रेसले अध्यक्षको उम्मेदवार पाउनेछ।
नेकपा माओवादी केन्द्रले रिब्दीकोट गाउँपालिका र तिनाउ गाउँपालिका तथा नेकपा एकीकृत समाजवादीले पूर्वखोला गाउँपालिका र रम्भा गाउँपालिकाको अध्यक्षको उम्मेदवार पाउनेछ।