काठमाडौं : र्यापर तथा गायक बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन्। आज प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभागृहमा रहेको निर्वाचन कार्यालयमा पुगेर उनले काठमाडौं महानगरको मेयर पदमा उम्मेदवारी दिएका हुन्।
मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेर शाहले मेयरमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका हुन्। उनले आजै आफ्नो चुनावी घोषणापत्र पनि सार्वजनिक गरेका थिए।
पार्टीबाट उम्मेदवारी दिँदा हस्तक्षेप हुने हुँदा स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेको बालेनले बताए। साथै आफूसँग काठमाडौं महानगरपालिकाको लागि योजना र स्पष्ट एजेन्टा रहेको उनको भनाइ छ।
'पाँच वर्षसम्म जनताले धेरै दुःख पाइसक्नुभयो। मसँग काठमाडौंको विकासको लागि धेरै योजनाहरू छन्। सडकदेखि खानेपानी व्यवस्थापनको कामहरू म गर्ने छु। तपाईँलाई चुनाव आउँदा घर आउने मेयर चाहियो कि पाँचवर्षसम्म घर आइराख्ने मेयर चाहियो?' उनले जनतालाई प्रश्न समेत गरे।