पोखरा : पोखरा महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका नेता विमलबहादुर कार्कीले बागी उम्मेदवारी दिएका छन्।
सत्ता गठबन्धनले भागबन्डा मिलाउँदा पोखरा महानगरको प्रमुख नेकपा एकीकृत समाजवादीलाई दिएको थियो। केन्द्रको निर्णयको विरोध कास्की कांग्रेसका नेताहरु गर्दै आएका छन्।
केन्द्रको निर्णयमा असन्तुष्टि जनाउँदै आज कांग्रेसको पोखरा नगर समितिका पूर्वसभापति समेत रहेका विमलबहादुरले निर्वाचन कार्यालय पुगेर प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
लोकप्रिय मत ल्याएर जित्ने अवस्था रहँदा एकीकृत समाजवादीलाई मत हाल्ने निर्णयले कांग्रेसलाई स्तब्ध बनाएको उनले सुनाए।
'गोरखामा आँखालाई मत हाल भन्ने, चितवनमा हंसियालाई हाल भन्ने, लोकप्रिय साथ पोखरामा जित्ने अवस्था हुँदा कलमलाई हाल भन्ने,' उनले प्रश्न गरे,'विद्रोह गर्नुपर्छ कुनै पनि हालतमा कांग्रेसले अरुलाई मत दिँदैन।'
उम्मेदवारी दर्ता गराइसकेका उनले आफ्नो उम्मेदवारी कुनै पनि हालतमा फिर्ता नहुने बताए।
'यो विद्रोह हो। म दबाबसँग डराउन् । दबाबमा सती जानुपर्ने हामीले निष्ठा र प्रतिष्ठा गुमाउनुपर्ने?' उनले भने।