PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

ललितपुरमा एकीकृत समाजवादीलाई शून्य सिट, यस्तो छ गठबन्धनको समीकरण



पहिलोपोस्ट

ललितपुरमा एकीकृत समाजवादीलाई शून्य सिट, यस्तो छ गठबन्धनको समीकरण

काठमाडौं : प्रदेशस्तरीय गठबन्धन बैठकले ललितपुर जिल्लाका पालिकाहरुमा भागबन्डामा सहमति गरेको छ। आज बसेको वाग्मती प्रदेशस्तरीय गठबन्धन बैठकले भागबन्डा टुंगो लगाएको हो।

सहमति अनुसार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले एक-एक नगरपालिका प्रमुख पाएका छन्। दुवै नगरको उपप्रमुख भने कांग्रेसले पाएको छ। नेपाली कांग्रेसले गोदावरी नगरपालिकाको प्रमुख र उप प्रमुख पाएको छ भने महालक्ष्मी नगरपालिको प्रमुख नेकपा माओवादी केन्द्रले पाएको छ। महालक्ष्मी नगरको उपप्रमुख पनि कांग्रेसले पाएको छ।

यस्तै, ललितपुरका तीन गाउँपालिकामा पनि भागबन्डा मिलेको छ। एक गाउँपालिका माओवादी केन्द्र र दुईवटा गाउँपालिका कांग्रेसले पाएको छ।

सहमतिअनुसार कोन्ज्योसोम गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारले प्रतिस्पर्धा गर्नेछ। उपाध्यक्षमा भने कांग्रेसले उम्मेदवार खडा गर्नेछ। यस्तै, वाग्मती गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रले पाएको छ।

महाङ्काल गाउँपालिकामा पनि नेपाली कांग्रेसले अध्यक्ष पद पाएको छ। उपाध्यक्षमा माओवादी केन्द्रले उम्मेदवार खडा गर्नेछ।

सहमतिपत्रमा नेपाली कांग्रेसका वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र माओवादी केन्द्रका प्रदेश अध्यक्ष सरल सहयात्रीले हस्ताक्षर गरेका छन्। दुवै नेताले सहमति अनुसार निर्वाचनको माहोलमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

यसअघि ललितपुर महानगरपालिकाको भागबन्डा केन्द्रीय गठबन्धनले गरेको थियो। केन्द्रमा भएको सहमति अनुसार ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले उम्मेदवार खडा गर्नेछ। ललितपुर महानगरको उपप्रमुखमा माओवादी केन्द्रले उम्मेदवार चुनावी प्रतिस्पर्धामा उतार्नेछ।

सत्ता गठबन्धनमा भएको भागबन्डा अनुसार ललितपुरमा नेकपा एकीकृत समाजवादीको उपस्थिति पालिका तहमा देखिएको छैन। कुनै पनि पालिकामा एकीकृत समाजवादीले नगर प्रमुख/उपप्रमुख र गाउँपालिका अध्यक्ष/उपाध्यक्ष पदको भाग पाएको छैन।

एकीकृत समाजवादीले  काठमाडौं महानगरमा उपप्रमुख र पोखरा महानगरमा प्रमुख पद पाएको छ। तर, यहाँ पनि पार्टी अध्यक्ष माधवकुमार नेपालको जोडबलले मात्र भागबन्डा एकीकृत समाजवादीले पाएको हो।

उपमहानगरमा पनि एकीकृत समाजवादीले हेटौंडाको प्रमुख र इटहरी, बुटवल र तुल्सीपुरको उपप्रमुख पाएको छ।

अन्य पालिकाहरुमा एकीकृत समाजवादीले पाएको भागप्रति पार्टी नेतृत्व असन्तुष्ट छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन बिच जिल्ला तहमा भइरहेको स्थानीय तहको सिट बाँडफाँटप्रति असन्तुष्टि जनाइसकेका छन्। शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले स्थानीय तह निर्वाचनको सिट बाँडफाँटको जिल्ला तहको रिर्पोटले आफूहरुलाई उत्साही नबनाएको बताएका थिए।

‘पाँच दलीय गठबन्धन बिच महानगरपालिका र उपमहानगरपालिकामा गरिएको पदहरुको बाँडफाँट उत्साहवर्द्धक थियो। र, यसले राम्रो सन्देश पनि दिएको छ। तर, विभिन्न जिल्लाको रिर्पोटहरु सुन्दाखेरी त्यति आशावादी र उत्साही हुने स्थिति छैन,’ उनले भनेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell