PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

हेटौंडा उपमहानगरमा मिना भर्सेस अनन्त, कसले मार्ला बाजी ?



निशा गुरुङ

हेटौंडा उपमहानगरमा मिना भर्सेस अनन्त, कसले मार्ला बाजी ?

हेटौंडा : देशभर स्थानीय तह निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदैछ। वाग्मती प्रदेशको राजधानी हेटौंडालाई पनि अहिले चुनावी माहोलले छोपेको छ। अझ उपमहानगरपालिका समेत भएकोले यस क्षेत्रको निर्वाचनलाई चासोका साथ हेरिएको छ। 

हेटौंडा उपमहानगरपालिका प्रमुखमा एमालेले संविधानसभा सदस्य अनन्त पौडेललाई अघि सारेको छ। सत्ता गठबन्धनले भने हेटौंडा उपमहानगर प्रमुख नेकपा एकीकृत समाजवादीलाई दिएको छ। तर, नेपाली कांग्रेसका स्थानीय नेता केन्द्रको उक्त निर्णयले विभाजित भएका छन्।

एकीकृत समाजवादीले मिना कुमारी लामालाई उपमहानगरको उम्मेदवार बनाउने निर्णय गरेको छ। यसअघि उनी हेटौंडा उपमहानगरकी उपप्रमुख थिइन्। केहीदिन अघि नै उनले उपप्रमुखबाट राजीनामा दिएकी थिइन्।

कसले मार्ला बाजी ? 

२०७४ सालको चुनावी परिणाम अनुसार एमाले हेटौंडा उपमहानरमा बलियो नै देखिन्छ। उक्त निर्वाचनमा नेकपा एमालेविरुद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धनमा आवद्ध भए पनि एमालेले जित हासिल गरेको थियो। उपमहानगर प्रमुखमा एमालेका हरिबहादुर महत र उपप्रमुखमा मीना लामा विजयी भएकी थिइन्।

२०७४ सालमा चुनावी तालमेल गरेका कांग्रेस र माओवादी केन्द्रविरुद्ध एमाले बलियो साबित भएको थियो। प्रमुखमा महतले २३ हजार १२४ मत ल्याउँदै जित हात पारेका थिए। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५०९ मत पाएका थिए।

उपप्रमुखमा एमालेबाट चुनावी मैदानमा होमिएकी लामाले माओवादी केन्द्रका बलराम बललाई हराउँदै जित हात पारेकी थिइन्। लामाले २३ हजार ४३७ मत ल्याउँदा बलले १७ हजार ११ मत पाएका थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी इन्दिरा न्यौपानेले ७ हजार ७०२ मत पाएर तेस्रो बनेकी थिइन् भने नयाँ शक्ति पार्टीका उम्मेदवारले १ हजार १५३ मत ल्याउँदा अन्य उम्मेदवारले भने ५ सय मत कटाउन सकेका थिएनन्।

उपमहानगरका १९ वडामध्ये २०७४ को निर्वाचनमा एमालेले १२ वटा वडामा जित हात पारेको थियो। कांग्रेसले ५ वटा वडामा र माओवादी केन्द्रले २ वटा वडामा जितेको थियो।

एमालेले हेटौंडाको वडा नम्बर २, ३, ४, ७, ८, ९, १०, ११, १३, १७, १८, १९ मा जितेको थियो भने कांग्रेसले वडा नम्बर १, ५, ६, १५ र १६ मा जितेको थियो। माओवादी केन्द्रले वडा नम्बर १२ र १४ मा जितेको थियो। त्यसो त हाल १४ नम्बरका वडा अध्यक्ष माओवादी केन्द्र त्यागेर एमालेमा आवद्ध भएका छन्। एमालेबाट निर्वाचित वडा नम्वर १३ का अध्यक्ष एकीकृत समाजवादीमा आवद्ध भएका छन्।

पार्टी विभाजनको असर कम

एमालले हेटौंडामा पार्टी विभाजनको असर कम भएको आंकलन गरेको छ। एकीकृत समाजवादीको भागमा परेको स्थानीय तहमा एमालेलाई सजिलै जित्न विश्वास लिएको छ।

गठबन्धनमा कांग्रेसकै कार्यकर्ताहरुले प्रमुखमा एकीकृत समाजवादीलाई साथ नदिने सम्भावना रहेको एमाले नेता बताउँछन्। पार्टीले एकीकृत समाजवादीलाई प्रमुख पद दिएर एमालेलाई नै सघाउने काम गरेको आरोप स्थानीय नेताहरुले लगाउँदै आइरहेका छन्।

कांग्रेस मकवानपुर पार्टी कार्यालयमा सयौं कार्यकर्ताहरुले दैनिक ताल्चा लगाएर विरोध गर्ने, पत्रकार सम्मेलन गर्ने कार्य गरिरहेका छन्। यस्तो अवस्थामा हेटौंडाको प्रमुखमा समाजवादीले पाउँदा एमाले भने उत्साहित देखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell