
काठमाडौं : गोकर्णेश्वर नगरपालिकामा आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस इतरको अलाइन्स बनेको छ। देशव्यापी स्थानीय तहमा गठबन्धनले सामूहिक उम्मेदवार तय गरिरहेको अवस्थामा काठमाडौंकै नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र कांग्रेस इतरको सत्तारुढ गठबन्धन अलग अलग प्रतिस्पर्धा गर्ने भएका छन्।
'कांग्रेसले हामीलाई अल्मल्याएर ड्यामेजमात्र गर्न खोज्यो,' नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य समेत रहेका गोपाल बरालले पहिलोपोस्टसँग भने। एकीकृत समाजवादीका काठमाडौं जिल्ला सह इन्चार्ज समेत रहेका बराल नगर प्रमुखमा उम्मेदवार रहने गरी नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीसहितको गठबन्धन गर्ने सहमति जुटेको हो।
'हामीलाई दुई वटा वडा अध्यक्ष समेत नदिने भन्न थाले। त्यसैले मित्रवत प्रतिस्पर्धा गरौं भनेर चुनावमा जाने गठबन्धनको सहमति भयो,' बरालले भने।
कांग्रेस इतरको यस गठबन्धनबाट नेकपा माओवादी केन्द्रका पेमा छिरी शेर्पा उप प्रमुख रहने सहमति भएको छ। गोकर्णेश्वर नगरपालिकाका १, २, ३, ५, ७ र ९ नम्बर वडा अध्यक्ष नेकपा माओवादी केन्द्र तथा वडा नम्बर ४, ६ र ८ नम्बरमा नेकपा एकीकृत समाजवादीले लिनेगरी सहमति भएको हो।
सहमतिपत्रमा नेकपा एकीकृत समाजवादीका तर्फबाट विश्नाथ प्याकुरेल, गोपाल बराल, उद्धब खड्का, मन्दिर तिमल्सिना, विमल अर्यालले हस्ताक्षर गरेका छन् भने नेकपा माओवादी केन्द्रका महेश्वर फुयाल, तेजराज नेपाल
पेमाछिरी शेर्पा, मन बहादुर तामाङ र कपिलमुनि उप्रेतीले हस्ताक्षर गरेका छन्। जनता समाजवादी पार्टी नेपालकाका मानबहादुर लामा र चन्द्रप्रसाद गिरीले पनि सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
गठबन्धनको मेयरमा दावी राखेका गोपाल बराल जोरपाटी गाउँ विकास समितिका पूर्व अध्यक्ष हुन्। 'स्थानीय तहबाट उम्मेदवार टुङ्ग्याउने निर्णय भएअनुसार हामीले उम्मेदवारी तय गरेका हौं,' बरालले भने, 'पार्टी महासचिव बेदुराम भुसालले गो अ हेड भन्नुभयो। हामीले त्यसै अनुरुप सहमति गरेका हौं।'
यसअघिको निर्वाचनमा गोकर्णेश्वर नगरपालिकामा मेयर र उप प्रमुख तथा बहुमत वडा अध्यक्ष नेपाली कांग्रेसले जितेको थियो। त्यसैलाई आधार मानेर कांग्रेस अगाडि बढेपछि गोकर्णेश्वर नगरपालिकामा त्रिपक्षीय भिडन्तको सम्भावना बढेको छ।