PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

वीरगंजमा उम्मेदवारी दर्ताको दृश्य : कोही पैदलमा, कोही डीजेसहित गाडीमा पुगे निर्वाचन अधिकृतको कार्यालय

वीरगंजमा उम्मेदवारी दर्ताको दृश्य : कोही पैदलमा, कोही डीजेसहित गाडीमा पुगे निर्वाचन अधिकृतको कार्यालय

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरगंज : आसन्न स्थानीय तहको निर्वाचनको लागि वीरगंजमा पनि उम्मेदवारी दर्ता जारी छ। जिल्ला समन्वय समिति पर्साको परिसरमा विभिन्न पदका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराइरहेका छन्।

निर्वाचन आयोगले यो पटक उम्मेदवारी दर्ताको लागि आइतवार र सोमवार गरी दुई दिनको समय तोकेको छ भने मंगलवार दावी विरोधको समय तय गरेको छ। दुई दिनको समय पाएकाले वीरगंजमा मुख्य राजनीतिक दलहरु सोमवार नै उम्मेदवारी दर्ता गर्ने सोचमा छन्।

असन्तुष्ट नेताहरु अन्य पार्टीमा जाने डरको कारण मुख्य दलहरु जनता समाजवादी पार्टी (जसपा), नेकपा (एमाले) र नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)ले अन्तिम दिन नै उम्मेदवारको टुंगो लगाउने र मनोनयन दर्ता गर्ने योजनामा रहेको बुझिन्छ।

नेकपा (एकीकृत समाजवादी)का निशेषराज न्यौपाने भने बिहान करिब १० बजे वडा नम्बर ५ को वडा सदस्य पदमा स्वतन्त्रबाट पहिलो उम्मेदवारी दर्ता गराएका छन्। वीरगंज-१० आदर्शनगरको वडा अध्यक्षको लागि स्वतन्त्र रुपमा ग्रीनसिटीका अध्यक्ष जयप्रकाश खेतानले उम्मेदवारी दर्ता गराएका छन्।

त्यसैगरी, एकीकृत समाजवादीको तर्फबाट वीरगंज-१४ को वडाध्यक्षमा रामबालक प्रसाद पटेल, वडा सदस्यमा मुकेश पटेल, रामदिनेश पटेल, जयमती देवी, सरस्वती गुरुङले उम्मेदवारी दर्ता गराएको वीरगंज महानगरका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए।

उम्मेदवारहरु गाडीमा डिजे समेत राखेर बाजागाजासहित उम्मेदवारी दर्ता गर्न आएका थिए। साथै, केही उम्मेदवार पैदल र मोटरसाइकल र्‍यालीसहित नाराबाजी गर्दै उम्मेदवारी दर्ता गर्न आएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell