कैलाली : कैलालीको कैलारी गाउँपालिका-७ विपतपुरस्थित मुक्त कमैया शिविरमा आगलागी भएको छ। आगलागीबाट करिब ४० बढी घर जलेर नष्ट भएको बताइएको छ। शिविरमा ६० भन्दा बढी घरधुरी रहेका छन्।
आगलागी अझै नियन्त्रणमा आइसकेको छैन।
गहुँको नलमा लगाएको आगो हावाले उडाएर बस्तीमा सल्केको बताइएको छ। टीकापुर, धनगढी उपमहानगरपालिकाबाट गएको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।
‘आगो नियन्त्रणका लागि ४ वटा दमकल परिचालन भइसकेका छन्,’ उनले भने, ‘आगो नियन्त्रणका भरपुर प्रयास भइरहेको छ। तर नियन्त्रणमा आइसकेको छैन। प्रमुख जिल्ला अधिकारी किरण थापा र प्रहरी प्रमुख एसपी सोमेन्द्र सिंह राठौर पनि आगलागी भएको बस्तीतर्फ गइसकेको जोशीले बताए।