PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

कांग्रेसको संकल्पपत्र सार्वजनिकका रोचक दृश्य: भद्रगोल व्यवस्थापनले बजेन राष्ट्रिय गान, घोषणापत्र नपुगेपछि शर्मा र थापाले गरे सेयर



नेत्र तामाङ

कांग्रेसको संकल्पपत्र सार्वजनिकका रोचक दृश्य: भद्रगोल व्यवस्थापनले बजेन राष्ट्रिय गान, घोषणापत्र नपुगेपछि शर्मा र थापाले गरे सेयर
फोटोः रोशन सापकोटा

काठमाडौँ: नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा उम्मेदवारको टुंगो अझै लगाउन सकेको छैन। उम्मेदवार टुंगो नलागे पनि महामन्त्री गगन थापा संयोजक रहेको घोषणापत्र तयारी समितिले आइतबार सानेपामा पत्रकार सम्मेलन गरेर संकल्पपत्र सार्वजनिक गर्‍यो।

'सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर' मुख्य नारासहित संकल्पपत्र सार्वजनिक गर्दै कांग्रेस महामन्त्री थापाले यो अभियान पूरा गर्न तीनै तहको सरकारको नेतृत्व गर्ने चाहना कांग्रेसको रहेको जनाए। महामन्त्री थापाको संयोजकत्वमा मिथिला हलमा संकल्पपत्र जारी गर्दै गर्दा नेताहरुको 'गेस्चर' भने भर्खरै बाझाबाझ गरी निस्किएका जस्तो देखिन्थ्यो।

भद्रगोल व्यवस्थापन

कांग्रेसको घोषणापत्र तयारी समितिमा ४५ भन्दा बढी सदस्यहरु चयन भएका थिए। यद्यपि घोषणापत्र जारी गर्दा समितिका सदस्यहरुको व्यवस्थापन अभावका कारण कार्यक्रम भद्रगोल देखियो। कार्यक्रममा थापाबाहेक केही सदस्यमात्र सक्रिय देखिन्थे। दिउँसो १ बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहे पनि व्यवस्थापन मिलाउन नसक्दा आधा घण्टा पर धकेलियो कार्यक्रम। सुरुमा तेस्रो तल्लामा रहेको हलमा कार्यक्रम गर्ने तयारी गरे पनि कोठा सानो हुने देखेपछि मिथिला हलमा सारियो। घोषणापत्र समितिका सदस्यसमेत रहेका केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले सञ्चालन गरेको कार्यक्रममा राष्ट्रिय गान नबज्दा नेताहरु निकै समय उभिनुपरेको थियो। पछि मोबाइल पोडियममै पुर्‍याएर राष्ट्रिय गान बजाइएको थियो। बीचमा फोन अवरुद्ध भएपछि नेताहरु आफैँ ठूलो स्वर बनाएर राष्ट्रिय गान गाउन थालेका थिए।

उम्मेदवार टुंगो लगाउने चटारो

उम्मेदवार टुंगो लगाउन कांग्रेसलाई अझै सकस परेको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा बिहान १० बजेबाटै सानेपा पार्टी कार्यालयमा पुगेर छलफलमा छन्। पार्टी सभापति देउवाले घोषणापत्र जारी कार्यक्रममा पार्टीको घोषणापत्रको नारा लेखिएको ब्यानर बोर्ड खोलेपछि घोषणापत्र सार्वजनिक भयो।

घोषणापत्र सार्वजनिक गर्न देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा मञ्चमा उक्ले। सार्वजनिक कार्यक्रममा घोषणापत्र नपुगेपछि महामन्त्री शर्माले थापासँग सेयर गरेर विमोचन गरेका थिए। विमोचनका लागि तयार पारिएको संकल्पपत्र विमोचन गर्नसाथ नेताहरु पुनः सभापतिको लबीतिर लागे। घोषणापत्र सार्वजनिक गर्दा पार्टीको केन्द्रीय नेतृत्वले सञ्चार गर्नुपर्ने सन्देशको त्यहाँ कुनै छनक देखिएन। सभापति देउवाले सम्बोधन गर्न चाहेनन् वा समय दिइएन यसबारे केही खुलाइएन।

नेताहरु बाहिरिएपछि संयोजक एवं महामन्त्री थापाले संकल्पपत्रको ब्याख्या गरे।

कांग्रेसलाई गिज्याउने घोषणापत्र

संकल्पपत्रबारे ब्याख्या गर्दै महामन्त्री थापाले सरकारी करमा अनावश्यक रुपमा भ्यू टावर नबनाउने संकल्प प्रस्तुत गरे। ‘जनताको करबाट उठेको राजस्वलाई भ्यू टावर, स्वागतद्वार जस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्दैनौँ’ संकल्पपत्रमा लेखिएको छ।

यसो भन्दै गर्दा कांग्रेसले आफ्नो प्रतिवद्धता पूरा गर्न तीनै तहमा कांग्रेस नेतृत्वको सरकारको परिकल्पना गरेको छ। ८८ पृष्ठको घोषणापत्रको पृष्ठ २८ मा भनिएको छ, 'नेपाली नागरिकको उज्यालो भविष्य र समुन्नत नेपालका लागि आफ्नो अमूल्य मत दिई नेपाली कांग्रेसलाई तीनै तहमा विजयी गराऔँ।'  तर कांग्रेस आफै भने गठबन्धन गरेर चुनावमा लड्दैछ। यसले तीनै तहमा सरकारको नेतृत्वमा कांग्रेस नपुग्ने निश्चित छ।

कांग्रेसले संकल्पपत्रमा परिवारका मानिसलाई नियुक्त गर्ने उल्लेख गरेको छ। ‘नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त गर्ने छैनौँ’ संकल्पपत्रमा लेखिएको छ। तर, कांग्रेसमाथि नै ‘पोलिटिकल नेपोटिजम’ चलाएको आरोप लाग्दै आएको छ।

स्थानीय तहको आफ्नै घोषणापत्र आउने

संकल्पपत्र प्रस्तुत गरेको केही समयपछि महामन्त्री थापाले आफ्नै कार्यकक्षमा प्रश्नोत्तर राखे। थापाले कार्यकक्षमा पनि घोषणापत्रको पुन: ब्याख्या गरे। नेपालको प्रमुख दल र सत्ताको नेतृत्व गरिरहेको पार्टीले संघीयता लागू गरेपछि पनि स्थानीय तहलाई नपत्याएको आरोप लाग्दै आएको छ। पछिल्लो घोषणापत्र जारी गरेर स्थानीय तहलाई बाइपास गर्न खोजेको हो कि? जवाफमा महामन्त्री थापाले स्थानीय सरकारको आफ्नै घोषणापत्र आउने दाबी गरे।

उनले कांग्रेस केन्द्रले जारी गरेको संकल्पपत्र मार्गदर्शनजस्तो मात्र भएको तर्क गरे।

भने, 'काठमाडौं महानगरपालिकाले आफ्नै घोषणापत्र बनाउँछ। मुगुको एउटा गाउँपालिकाले पनि आफ्नै घोषणापत्र बनाउँछ। ७५३ गाउँपालिकाको बेग्लाबेग्लै घोषणापत्र बन्छ। वडालाई पनि बनाउ भन्नुपर्छ। यो समग्र कांग्रेस पार्टीको मार्गदर्शनजस्तो भयो। यो संकल्प भयो। मूल बाटो जस्तोमात्र हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell