PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

चुनावी घोषणापत्रका 'केही बुँदा'मा खेलकुद : वडावडामा खेलमैदानदेखि ‘इ-स्पोर्ट्स’को प्रतिबद्धता



मुकुन्द घिमिरे

चुनावी घोषणापत्रका 'केही बुँदा'मा खेलकुद : वडावडामा खेलमैदानदेखि ‘इ-स्पोर्ट्स’को प्रतिबद्धता

काठमाडौं  : स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलदेखि स्वतन्त्र उम्मेद्वारले धमाधम चुनावी घोषणा पत्र सार्वजनिक गरिरहेका छन्। सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले घोषणा पत्र सार्वजनिक गरिसकेको छ। यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी पनि चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्।

अधिकांश घोषणापत्रमा खानेपानी, सरसफाइ र पूर्वाधारहरुले प्राथमिकता पाएका छन्। दलहरुको घोषणापत्रमा ‘केही बुँदा'मा खेल क्षेत्रले प्राथमिकता पाएको छ। माओवादी केन्द्रलगायतका केही दलहरुले घोषणा पत्र सार्वजनिक गर्न बाँकी छ।

घोषणा पत्रमा कति छ खेलकुदलाई भाग?

नेपाली कांग्रेसले ८८ पृष्ठ चुनावी संकल्प पत्र सार्वजनिक गरेको छ। जसमा सात बुँदा खेलकुदलाई खर्चिएको छ। संकल्प पत्रमा पार्क/रंगशाला निर्माण, खेलकुदलाई प्रोत्साहन, विद्यालयको पाठ्यक्रममा खेलकुदलगायताका विषय समावेश गरिएको छ।

'पार्क, व्यामशाला, रंगशाला निर्माण कार्यलाई मुर्तरूप दिने। एक स्थानीय तह एक खेलकुद मैदान, क्रिकेट, फुटबल, भलिबल लगायतका खेलकुदलाई उचित प्रोत्साहन दिने,' कांग्रेसको चुनावी घोषणापत्रमा भनिएको छ, 'खेलकुदमा लगानी भनेको स्वास्थ्यमा लगानी घटाउनु हो भन्न बुझेर लगानी गर्ने। विद्यालयको पाठ्यक्रममा खेलकुद समावेश गराउने, क्रिकेट, भलिवल, फुटवल, व्याटमिन्टन लगायतका खेलको तालिम संचालन गर्ने।'

त्यस्तै शारीरिक, मानसिक विकासका लागी खेलकुद क्लबको स्थापना गर्ने विषय पनि घोषणा पत्रमा उल्लेख छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले युवा तथा खेलकुद भनेर मुख्य बुँदा नै राखेको छ जसमा प्रत्येक वडामा खेल मैदान बनाउने देखि खेलाडीलाई प्रशिक्षण दिने कुरा उल्लेख छ।

'आवश्यकता अनुसार स्थानीय तहको रंगशाला, कभर्ड हल, प्रत्येक वडामा खेल मैदान,' अर्कोबुँदामा लेखिएको छ,'स्थानीय प्रतिभाशाली खेलाडी र प्रशिक्षकलाई उच्चस्तरीय प्रशिक्षण र प्रोत्साहन दिने।'

सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले पनि आफ्नो घोषणा पत्रमा खेलकुदका लागि केही बुँदा छुट्याएको छ।

'हरेक वार्डमा सबै आयुवर्गका मानिसलाई खेलकुद र व्यायामतर्फ आकर्षित गर्नका लागि आवश्यक भौतिक संरचना निर्माण गरिने छ। बालबालिका तथा युवाहरूको शारीरिक र मानसिक विकासका लागि खेलकुद गतिविधिमा संलग्न हुने वातावरण सिर्जना गरिने छ,' घोषणा पत्रमा भनिएको छ, 'हरेक वार्डमा साना खेल मैदान, योग केन्द्र र हरेक पालिकामा फुटबल, क्रिकेट लगायतका खेल खेल्न सकिने ठुला खेल मैदान निर्माण गरी बालबालिका तथा युवाहरूको स्वास्थ्य सुगठनमा विशेष ध्यान दिइने छ।'

त्यस्तै खेलाडीलाई सम्मान गर्ने र पुरस्कारको व्यवस्था गर्ने प्रतिबद्धता समाजवादीले गरेको छ।

'सम्बन्धित पालिकामा स्थायी बसोवास भएका खेलाडीहरूमध्ये राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलमा पदक प्राप्त गर्नेहरूलाई पदकको स्तर अनुसार निश्चित रकम पुरस्कारसहित कदरपत्र प्रदान गरिने छ,' घोषणापत्रमा भनिएको छ, 'राष्ट्रिय खेलमा कम्तीमा रजत पदक र अन्तर्राष्ट्रिय स्तरको खेलमा कुनै पनि पदक प्राप्त गर्ने खेलाडीले जागिर खान चाहेमा निजलाई सम्बन्धित पालिकाले योग्यताअनुसारको जागिर दिने व्यवस्था गर्ने छन्।'

त्यस्तै स्वतन्त्र उम्मद्वारहरुले पनि आफ्नो घोषणापत्रमा खेलकुदलाई स्थान दिएका छन्।

'वडावडामा खेलकुद मैदान र खेलकुद केन्द्र निर्माण गरिनेछ। खेलकुद र युवा सशक्तिकरणको प्रवर्द्धनका लागि बैंकहरुसँग उनीहरुको संस्थागत सामाजिक उत्तरदायित्व समावेश गर्न सहकार्य गरिनेछ,' उनको घोषणापत्रमा भनिएको छ, 'स्थानीय खेलाडीलाई विद्यालयदेखि वडा तहमा तालिम दिन राष्ट्रिय खेलाडीलाई तलब स्केल दिइने छ। अन्तर्राष्ट्रिय खेलकुद क्लबहरुसँगको सहकार्यमा युवा लिगहरु आयोजना गरिनेछ।'

काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका र्‍यापर बालेनले ‘इ-स्पोर्ट्स’लाई प्राथमिकता दिने उल्लेख गरेका छन्।

'पर्यटन र अर्थशास्त्रलाई प्रत्यक्ष प्रवर्दन गर्न अन्तर्राष्ट्रिय इ-स्पोर्ट्स खेलाडीलाई आकर्षित गर्न अन्तर्राष्ट्रिय इ-स्पोर्ट्स प्रतियोगिता आयोजना गरिनेछऽ' उनको घोषणा पत्रमा उल्लेख छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो घोषणा पत्रमा खेलकुदलाई खास प्राथमिकता नदिए पनि शिक्षासँग जोडेर खेलकुद मैदान बनाउने उल्लेख गरेको छ।

'प्रयोगशाला, विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था, आवश्यक जनशक्ति, तालिम, खेलकुद मैदान, विद्यालय यातायात सुविधा सुनिश्चित गर्ने,' एमालेको घोषणापत्रमा भनिएको छ।

त्यसअघि अनुभव र उपलब्धि भन्ने बुँदामा दशरथ रंगशाला, पोखरा रंगशाला लगायतका रंगशाला निर्माणको जस एमालेले लिएको छ।

जनता समाजवादी पार्टीले चुनावी घोषणा पत्र निकाल्दै रंगशाला निर्माणमा जोड दिने प्रतिबद्धता दिएको छ।

'प्रत्येक गाउँपालिकाहरूमा कम्तिमा एक खेल विधाको ग्रामिण स्तरको एक एक खेलमैदान र रङ्गशाला निर्माण गरिने छ। नगरपालिका, उपमहानगरपालिकामा विभिन्न खेलविधाका क्रमशः कम्तिमा तीन र पाँच सुविधासम्पन्न रङ्गशाला निर्माण गरिने छ,' घोषणापत्रमा भनिएको छ, 'प्रत्येक महानगरपालिकामा कम्तिमा दुई दुई अन्तराष्ट्रिय स्तरको रङ्गशाला निर्माण गरिनेछ।'

त्यस्तै घोषणा पत्रमा फरक क्षमताका खेलाडीलाई प्रोत्साहन गर्न प्रतियोगिता गराउने उल्लेख छ।

'अपाङ्ग, दृष्टिविहीन र फरक क्षमताका खेलाडीहरूलाई प्रोत्साहन हुने गरि सबै पालिकाहरूमा कम्तिमा दुई दुई वर्षमा त्यस्ता खेलाडीहरूको खेल प्रतियोगीता सञ्चालन गरिने छ,' घोषणापत्रमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell