PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

सुदूरपश्चिममा गठबन्धनको झमेला, देउवाको गृह जिल्लामा एमालेसँग तालमेल गर्दै मल्ल पक्ष



एम बम

सुदूरपश्चिममा गठबन्धनको झमेला, देउवाको गृह जिल्लामा एमालेसँग तालमेल गर्दै मल्ल पक्ष

कैलाली : आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयनको अन्तिम दिनसम्म पनि सुदूरपश्चिममा गठबन्धनका दलहरू भागबन्डाको रस्साकस्सीमै रुमलिएका छन्। डोटी र कञ्चनपुरमा गठबन्धनभित्र सहमति जुट्न नसक्दा नेपाली कांग्रेस बाहिरिएको छ। ती दुई जिल्लामा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चाबिच मात्रै तालमेल हुने भएको छ।

डोटीमा हिजो नेपाली कांग्रेससहित गठबन्धनका सबै दलबिच तालमेलको खाका बने पनि त्यसमा सहमति नजुट्दा आज बिहान नेपाली कांग्रेसले तालमेलमा नजाने निर्णय लिएको हो। डोटीमा नेपाली कांग्रेसले धोका दिएको भन्दै माओवादी, समाजवादी र जनमोर्चाबिच भागबन्डामा सहमति भएको छ। ९ स्थानीय तहमध्ये पाँच स्थानीय तह माओवादीले र चार स्थानीय तह एकीकृत समाजवादीले पाउने गरी सहमति भएको छ। माओवादी केन्द्र डोटीका इन्चार्ज शिवसिंह ओलीले नेपाली कांग्रेसले गठबन्धनको मर्म विपरीत तालमेलमा धोका दिएको भन्दै अन्य तीन दलबिच सहमति भएको बताए।

माओवादीको भागमा दिपायल सिलगढी नगरपालिका, बोगटान गाउँपालिका, केआइसिंह गाउँपालिका, आदर्श गाउँपालिका र सायल गाउँपालिका परेको छ। त्यस्तै शिखर नगरपालिका, पूर्वी चौकी गाउँपालिका, बड्डिकेदार गाउँपालिका र जोरायल गाउँपालिका एकीकृत समाजवादीले पाउने सहमति भएको छ। राष्ट्रिय जनमोर्चालाई भने केआइसिंह गाउँपालिकाको ४ नम्बर वडा दिने सहमति भएको छ।

यता कञ्चनपुरमा पनि नेपाली कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ। त्यहाँ पनि माओवादी केन्द्र र एकीकृत समाजवादीबिच चुनावी तालमेलका लागि सहमति भएको हो। ९ स्थानीय तह रहेको कञ्चनपुरमा ५ स्थानीय तहमा माओवादी केन्द्रले प्रमुख र ४ स्थानीय तहमा एकीकृत समाजवादीले प्रमुख पाउने गरी सहमति भएको हो। यस्तै ६ स्थानीय तहमा माओवादी केन्द्र र तीन स्थानीय तहमा एकीकृत समाजवादीले उपप्रमुख पाउने सहमति भएको छ। कृष्णपुर, शुक्लाफाँटा, लाल झाडी, बेलौरी र बेल डाँडी माओवादी केन्द्र तथा बेदकोट, भीमदत्त, दोधराचाँदनी र पुनर्वास एकीकृत समाजवादीको भागमा परेको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा भने निर्वाचनलाई लिएर नेपाली कांग्रेस नै विभाजित भएको छ। ७ वटा पालिकामा पूर्व पार्टी सभापति कर्ण मल्ल पक्ष नेकपा एमालेसँग तालमेल गर्ने गरी अघि बढेको छ।

अधिवेशनबाट रुष्ट बनेको पूर्व जिल्ला सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल समूहले कांग्रेस एमालेसँग गठबन्धन गरेको हो। आइतबार भएको दुई पक्षीय बैठकले जिल्लाका ७ वटै स्थानीय तहमा चुनावी तालमेल गर्न भागबन्डा गर्ने निर्णय गरेको छ। जसअनुसार जिल्ला सदरमुकाम रहेको अमरगढी नगरपालिकामा बिपी कांग्रेसबाट हरिप्रसाद भट्ट नगरप्रमुखमा र एमालेका यज्ञराज अवस्थी उपप्रमुखमा चुनाव लड्ने भएको छन्। परशुराम नगरपालिकामा भने प्रमुखमा एमालेका केशव बोहरा र उपप्रमुखमा बिपी कांग्रेसका उम्मेदवारलाई दिने सहमति भएको छ। यस्तै आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेलाई दिइने निर्णय भएको छ। भागेश्वर गाउँपालिकाको अध्यक्ष भने नेकपा एमालेलाई र उपाध्यक्ष बिपी कांग्रेसलाई दिइने भएको छ।

अजय मेरु गाउँपालिको अध्यक्षमा एमालेका पदम पाल र बिपी कांग्रेसबाट उपाध्यक्ष राजेन्द्र ऐर, नवदुर्गाको अध्यक्षमा बिपी कांग्रेसबाट गोकुल शाही, उपाध्यक्षमा एमालेकी तारा खाती चुनाव लड्ने भएका छन्। उता गन्यापधुरामा बिपी कांग्रेसबाट सुरेन्द्र माली अध्यक्षमा र एमालेबाट इन्द्रबहादुर महरा उपाध्यक्षमा उम्मेदवार हुने बन्ने सहमति भएको छ। मल्ल पक्षले स्थानीय तह निर्वाचनका लागि टिकट बाँडफाँट गर्दा अन्यायमा परेका नेताहरूलाई सम्बोधन नगरे छुट्टै पार्टीबाट चुनाव लड्ने चेतावनी दिएको थियो।

कैलालीमा भने गठबन्धनमा सहमति जुटेको छ। झन्डै १० पटक बसेको गठबन्धनको बैठकले आइतबार मध्य राति सिट बाँडफाँटमा सहमति गरेको हो। यहाँ राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीसँग भने वडा तहमा मित्रवत् प्रतिस्पर्धा हुने बताइएको छ। आइतबार मध्य राति भएको सहमतिअनुसार जिल्लामा टुङ्गो लाग्न बाँकी १२ स्थानीय तहमध्ये ६ पालिका प्रमुख र ६ पालिका उपप्रमुख नेपाली कांग्रेसको भागमा परेको छ। यस्तै ४ पालिका प्रमुख र ५ पालिका उपप्रमुख माओवादी केन्द्र, २ पालिका प्रमुख र एक पालिका उपप्रमुख एकीकृत समाजवादीको भागमा परेको छ।

गोदावरी नगरपालिका, लम्की चुहा नगरपालिका, टीकापुर नगरपालिका, बर्दगोरिया गाउँपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसले उम्मेदवार लडाउने छ। कांग्रेसले पाएका गोदावरी नगरपालिकामा एकीकृत समाजवादी र बाँकीमा माओवादी केन्द्रले उपप्रमुख पाएको छ। यस्तै गौरीगंगा नगरपालिका, भजनी नगरपालिका, कैलारी र मोहन्याल गाउँपालिका माओवादी केन्द्रले पाएको छ भने चुरे र घोडाघोडी नगरपालिका एकीकृत समाजवादीले पाएको छ। यी सबै पालिकामा उपप्रमुख नेपाली कांग्रेसले पाएको छ। यसअघि नै धनगढी उपमहानगरपालिकाको भागबन्डा भने केन्द्रीय गठबन्धनले टुंगो लगाइसकेको थियो। धनगढीमा मेयर कांग्रेस र उपमेयर माओवादी केन्द्रको भागमा परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell