
काठमाडौं : सत्तारुढ गठबन्धनले पाँच दलीय गठबन्धनको निर्णय अनुसार मनोननय दर्ता गर्न निर्देशन दिएको छ। सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मनोनयन दर्ता गर्दा गठबन्धनले गरेको निर्णय अनुसार गर्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएको हो।
बैठकले गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउनका लागि आ-आफ्नो दलको संयन्त्रमार्फत् निर्देशन दिने पनि निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
‘पाँच दलको भावना र मर्म अनुसार अगाडि बढ्ने र काहीँ आन्तरिक केही असमझदारीहरु छन् भने तिनीहरुलाई समझदारीमा परिणत गर्ने कुरा भयो,’ उनेल भने, ‘जनमतलाई ध्यानमा राखेर आफ्ना गतिविधिहरुलाई अगाडी बढाएर आज पाँच दलको जुन निर्णय छ, त्यही निर्णय अनुसार सबैलाई मनोनयन गर्नका निमित्त निर्देशन दिने कुरा भएको छ।’
पार्टीहरुमा योगदान गरेका धेरै व्यक्तिहरु भएको र उनीहरु आकांक्षी हुनु स्वाभाविक भएको उनले बताए। तर पार्टीको निर्देशन सबैले मान्नुपर्ने उनले बताए।
‘पार्टीको एउटा मर्यादा छ, अनुशासन छ र अहिलेको जुन आवश्यकता छ त्यसलाई हृदयंगम गरेर पार्टीले जुन निर्णय गर्छ त्यो निर्णयलाई पालना गरेर अगाडि बढ्नुको हामीसँग अहिले विकल्प छैन’ उनले भने।
उनले आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धनलाई जिताएर पाँच वर्षमा विकास निर्माणलाई अगाडि बढाउन स्थानीय निकायलाई परिचालन गर्नुपर्ने समेत बताए। केही स्थानमा बागी उम्मेदवारहरु खडा भए पनि त्यसलाई मिलाउन प्रयास हुने उनले बताए।
‘केही छुटफुट उम्मेदवारीहरु दर्ता भए पनि तिनीहरुलाई फेरी सहमति गरेर पाँच दलको एउटै उम्मेदवारहरु देशभरी हुनेछन्’ उनले भने।